नयाँ पुस्ताको राजनीतिक प्रवेश: मिराज ढुंगानाद्वारा नयाँ दल घोषणा हुने
काठमाडौ-जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले अब नयाँ राजनीतिक यात्राको सुरुवात गर्न लागेका छन्। उनले भोलि शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका हुन्।
ढुंगानाले सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै भनेका छन्,
“देश गम्भीर मोडमा पुगेको छ। समाधान खोजिरहेको यो अवस्थामा नयाँ सोच र नयाँ शैलीको दल आवश्यक भएको निष्कर्षमा हामी पुगेका छौं।”
उनका अनुसार नयाँ दलले निम्न प्रमुख एजेन्डा अघि सार्नेछ —
- प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था
- विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित
- जवाफदेही, डिजिटल र पारदर्शी नेतृत्व प्रणालीको अभ्यास
यसका लागि ढुंगानाले “पार्टी गठन वार्ता समिति” पनि गठन गरिएको जानकारी दिएका छन्।
ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका युवानेता हुन्। उनको राजनीतिक प्रवेशले नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता र डिजिटल युगअनुसारको सोच अघि ल्याउने अपेक्षा गरिएको छ।












