जेनजी आन्दोलनसम्बन्धी उजुरी तामेलीमा,ओली–लेखकविरुद्धको कारबाही रोकियो – Sagarmathapana:: Online News Portal

जेनजी आन्दोलनसम्बन्धी उजुरी तामेलीमा,ओली–लेखकविरुद्धको कारबाही रोकियो

   २०८२ आश्विन ३० गते  

काठमाडौं-जेनजी आन्दोलनका क्रममा दर्ता भएका उजुरीहरू तत्कालका लागि तामेलीमा राख्ने सरकारी तयारी भएको छ। यससँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी समूहका अगुवा सुदन गुरुङलगायतमाथिको कारबाही प्रक्रिया स्थगित गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरुवातमा उजुरी दर्ता गरी कारबाही अघि बढाउने निर्देशन दिएका थिए। तर, सुरक्षा निकायका प्रमुखहरूले तत्काल कदम चाल्दा शान्ति–सुरक्षामा असर पर्न सक्ने चेतावनी दिएपछि सरकार पछाडि हटेको हो।

उच्च सुरक्षा स्रोतका अनुसार, सरकार कानुनी र राजनीतिक जटिलता अध्ययन गर्दै उजुरीलाई अस्थायी रूपमा तामेलीमा राख्ने निष्कर्षमा पुगेको छ। एक प्रहरी अधिकारीले भने, “आज जसविरुद्ध कारबाही गर्छौं, भोलि अर्को सरकारले हामीमाथि पनि त्यसैगरी दबाब दिन सक्छ। त्यसैले हतारमा कदम चाल्नु उचित हुँदैन।”

यसैबीच, गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई रिहा गर्न निर्देशन दिएका छन्। प्रहरीले हालसम्म झण्डै दुई सय जना आन्दोलनकारीलाई आफन्तको जिम्मामा छोडिसकेको छ। प्रहरीका अनुसार, आवश्यक परेपछि उनीहरूविरुद्ध पुनः मुद्दा अघि बढाइनेछ।

सुदन गुरुङले ओली र लेखकविरुद्ध दर्ता गराएका उजुरी सुरुमा प्रहरीले लिन अस्वीकार गरेपछि ती उजुरी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएका थिए। आयोगले ती उजुरी फिर्ता पठाउँदै प्रहरीलाई कानुनी कारबाहीमा अवरोध नरहेको बताएको थियो। तर, सरकारले आयोगको अन्तिम प्रतिवेदन नआउँदासम्म कुनै ठोस कदम नचल्ने निर्णय गरेको हो।

प्रहरी तथ्यांक अनुसार, जेनजी आन्दोलनका घटनामा करिब ४० जनाको मृत्यु भएको र सयौँ सरकारी तथा निजी सम्पत्ति नष्ट भएको छ। उक्त घटनाको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन आएपछि मात्रै थप कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै