मधेशमा नयाँ राजनीतिक समीकरण:जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने सम्भावना प्रबल

काठमाडौं।मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ। प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि दलहरूबीचको गठबन्धन बन्ने क्रम तीव्र बनेको छ। पछिल्लो राजनीतिक विकासक्रमअनुसार लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन पाँच दलबीच सहमति भएको छ।
हिजो मध्यरातसम्म चलेको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका नेता महन्त ठाकुर लगायत शीर्ष नेताहरू सहभागी थिए। उक्त बैठकमा लोसपा, जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीबीच नयाँ गठबन्धनको सहमति भएको हो।
गठबन्धनमा सहभागी पाँच दलका जम्मा ५६ जना सांसद छन्, जसले आजै सरकार गठनको दाबी प्रस्तुत गर्ने तयारी गरेका छन्। यससँगै जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना अत्यधिक बनेको छ।
यसअघि नेपाली कांग्रेसले एमाले र जनमतसहितको गठबन्धन बनाएर सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष बुझाएको थियो। तर, जनमत पार्टी फुटेर जनस्वराज पार्टी छुट्टिएपछि उक्त गठबन्धन कमजोर बनेको बुझिएको छ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आज साँझ ४ बजेसम्म दाबी पेश गर्न समय तोकेको छ। अब मधेशको सत्ताको दिशा पाँच दलीय नयाँ गठबन्धनतर्फ मोडिने संकेत देखिएको छ।