कालीमाटी बजारमा फेरि विषादी भेटियो, अकबरे खुर्सानीमा ५४ प्रतिशत ‘अर्गानोफस्फेट’ – Sagarmathapana:: Online News Portal

कालीमाटी बजारमा फेरि विषादी भेटियो, अकबरे खुर्सानीमा ५४ प्रतिशत ‘अर्गानोफस्फेट’

   २०८२ आश्विन २८ गते  

काठमाडौं।मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा पुनः विषादी मिसिएको तरकारी फेला परेको छ। यसपटक मकवानपुरबाट बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार केन्द्रीय कृषि प्रयोगशालाले बजारका १५ वटा पसलमा परीक्षण गर्दा १५ थरी तरकारी तथा फलफूलमध्ये अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको हो।

समितिका अनुसार उक्त खुर्सानी मकवानपुरबाट कालीमाटीमा बिक्रीका लागि ल्याइएको थियो। परीक्षणमा ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा ५४.०७८ प्रतिशत पाइएपछि बजार समितिले सो वस्तु तत्काल बिक्री रोक्का गरेको जनाएको छ।

यसअघि बिहीबार मात्रै कालीमाटी बजारमै बिक्रीका लागि ल्याइएका हरियो फर्सी, काँक्रो र घिरौँलामा पनि अत्यधिक मात्रामा विषादी फेला परेको थियो। लगातार यसरी विषादीयुक्त तरकारी बजारमा प्रवेश गरिरहेकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने विशेषज्ञहरूले बताएका छन्।

केन्द्रीय कृषि प्रयोगशालाका विज्ञका अनुसार ‘अर्गानोफस्फेट’ एक प्रकारको रासायनिक विषादी हो, जसको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा स्नायु प्रणालीमा असर पार्नुका साथै दीर्घकालीन रोग निम्त्याउन सक्छ।

कालीमाटी बजार विकास समितिले विषादीयुक्त तरकारीलाई बजारमा बिक्री हुन नदिने र नियमित परीक्षणलाई अझ कडा बनाइने जनाएको छ। समितिले व्यापारीहरूलाई विषादीरहित उत्पादन मात्र ल्याउन आग्रह गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै