शीतल निवासमा प्रधानमन्त्री कार्कीसहित सबै दलसँग राष्ट्रपति पौडेलको छलफल – Sagarmathapana:: Online News Portal

शीतल निवासमा प्रधानमन्त्री कार्कीसहित सबै दलसँग राष्ट्रपति पौडेलको छलफल

   २०८२ आश्विन २४ गते  

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका सबै मन्त्री र विघटित प्रतिनिधि सभामा सहभागी दलका शीर्ष नेताहरूसँग शुक्रबार शीतल निवासमा विशेष छलफल गर्ने भएका छन्।

शीतल निवास स्रोतका अनुसार आसन्न मध्यावधि निर्वाचनका तयारी र त्यसलाई सफल बनाउनका उपायबारे छलफल केन्द्रित हुने जनाइएको छ। सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति सिफारिस गरिसकेको छ र त्यसअनुसार तयारी तीव्र पारिएको छ।

जेनजी आन्दोलनपछि राजनीतिक सहमतिको आधारमा राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै प्रतिनिधि सभा विघटन गरेका थिए। सो निर्णयपछि सरकारले फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले औपचारिक सूचना जारी गरेको थियो।

राजनीतिक दलहरूबीच हाल पनि निर्वाचनमा सहभागिताबारे मतभेद देखिएको छ। माओवादी केन्द्रले चुनावमा जाने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेको छ। रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) पनि निर्वाचनमा सहभागिताको तयारीमा छ भने एमाले भने प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिँदै चुनावमा नगइ आन्दोलनको तयारीमा रहेको स्रोतले जनाएको छ।

शीतल निवासमा हुने आजको बैठकबाट आगामी राजनीतिक दिशाबारे स्पष्ट संकेत आउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै