गभर्नरका लागि घर खोज्दै नेपाल राष्ट्र बैंक

काठमाडौं।नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि नयाँ सरकारी निवास खोज्न प्रक्रिया सुरु गरेको छ। बैंकले सूचना प्रकाशित गरी ललितपुरको बखुन्डोलदेखि भैँसेपाटीसम्मको क्षेत्रमा उपयुक्त घर भाडामा लिन प्रस्ताव आह्वान गरेको हो।
प्रकाशित सूचनाअनुसार बैंकले कम्तीमा १६ आनादेखि २४ आनासम्मको जग्गा भएको घर खोजिरहेको छ। सो घरमा कम्तीमा ६ वटा कार वा जिप पार्किङ गर्ने सुविधा हुनुपर्ने र आरसीसी संरचनामा बनेको कम्तीमा १ हजार वर्गफुट पिलिन्थ क्षेत्रफल भएको हुनुपर्ने उल्लेख छ।
गभर्नरका लागि खोजिएको घरमा एउटा मास्टर बेडरुमसहित कम्तीमा ४ वटा शयनकक्ष, लिभिङ हल, किचन, डाइनिङ हल, स्टोर रुम तथा सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था अनिवार्य राखिएको छ। साथै सुरक्षित कम्पाउन्ड वाल, कालोपत्र सडकसँगको पहुँच, बिजुली, ढल निकास र खानेपानीजस्ता आधारभूत पूर्वाधारसमेत आवश्यक शर्तमा राखिएको छ।
इच्छुकले २७ असोजभित्र प्रस्ताव पेश गर्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।