पाइलट मनिष शाक्य प्लेन दुर्घटनाबाट कसरी बाँचे ?
काठमाडौँ ।सौर्य एयरलाइन्सको ३७ वर्षीय पाइलट मनीषरत्न शाक्य दुर्घटनामा बाँचेका एक मात्र व्यक्ति हुन्। यसले धेरैलाई अचम्ममा पारेको छ कि जब सबैको मृत्यु भयो, उनी कसरी बाँचे?
ईओडीका प्रमुख कर्णेल रामज्योती बोहरा सहित ७ जनाको टोलीले उनको उद्धार गर्यो। शाक्यको जीवित रहनुको श्रेय नेपाली सेनाको बम डिस्पोजल युनिटलाई जान्छ। बिहान ११:११ बजे पोखराका लागि उडेको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाजले धावनमार्ग छोडेको २० सेकेन्डमै दुर्घटनामा पर्यो। विमान हेलिकप्टर मर्मत पार्किङ क्षेत्रमा रहेको सी–कन्टेनरमा ठोक्किएर दुई टुक्रा भयो।

ककपिट कन्टेनरमा अड्कियो र विमानको बाँकी भाग उछिट्टिएर खाली जमिनमा बजारियो। जमिनमा छोएको क्षणमै विमानमा आगो लाग्यो। प्रारम्भिक अलमलपछि उद्धार टोलीले खोजी सुरु गर्यो। टोली जहाजको मुख्य भागमा केन्द्रित हुँदा, ककपिटमा अड्किएका शाक्यप्रति कसैको ध्यान थिएन।
तर ककपिट नजिकैबाट इसारा गरिरहेको देखेपछि कर्णेल बोहराले आफ्नो टोलीलाई लिएर दौडे। उनीहरूले पाइलट शाक्यलाई रगताम्मे अवस्थामा फेला पारे। उनले ककपिटमा अरु दुई जना रहेको जानकारी दिए तर आगोको कारण सेनाले उनीहरूलाई जोगाउन सकेन।
शाक्यलाई पाँच मिनेटभित्र सेनाले उद्धार गरेर अस्पताल पठायो। अहिले शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको जानकारी प्रहरीले दिएको छ। बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।












