चलचित्र ‘रिमै’को प्रिमियर भव्य रूपमा सम्पन्न,भोलीदेखि प्रदर्शनमा – Sagarmathapana:: Online News Portal

चलचित्र ‘रिमै’को प्रिमियर भव्य रूपमा सम्पन्न,भोलीदेखि प्रदर्शनमा

   २०८२ भाद्र १९ गते  

काठमाडौं।गुरुङ समुदायको संस्कृति, कथा र भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको बहुप्रतिक्षित चलचित्र ‘रिमै’ को भव्य प्रिमियर बुधबार न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा सम्पन्न भएको छ ।

प्रिमियर शो सुरु हुनु अघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरूप सोरठी नाच प्रस्तुत गरिएको थियो । मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ पनि गुरुङ भेषभूषामा देखिएका थिए ।

चलचित्र हेरिसकेपछि निर्देशक बनेका अभिनेता विल्सन विक्रम राईले “रिमै गुरुङ समुदायमाथि बनेको उत्कृष्ट सिनेमा बनेको” प्रतिक्रिया दिएका थिए । त्यस्तै, माओत्से गुरुङले पनि सिनेमा निकै राम्रो बनेको भन्दै सबै समुदायका दर्शकलाई समर्थन गर्न आग्रह गरे ।

मुख्य अभिनेत्री रिश्मा गुरुङले करिब ८ वर्षपछि नेपाली सिनेमामा फर्किएको अवसरलाई विशेष बताएँ । उनले “काजी र मैंयाको जोडी पुनः पर्दामा आएकोले दर्शकलाई आकर्षित गर्ने विश्वास” व्यक्त गरिन् ।

निर्देशक खिलबहादुर गुरुङले तीन वर्षदेखि इमानदारीपूर्वक मेहनत गरेर सिनेमा तयार पारेको भन्दै “दर्शकको साथले व्यापारमा पनि सफलता हासिल गर्ने विश्वास छ” भनेका छन् ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स र रोटेपिङ इन्टरटेनमेन्टको संयुक्त प्रस्तुतिमा बनेको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् ।

‘रिमै’ भदौ २० गते शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै