दुग्ध किसानको आन्दोलन स्थगन, कार्तिक मसान्तभित्र सबै बक्यौता भुक्तानी गर्ने सहमति

निराज रानाभाट,
काठमाडौ।आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग र सरकारबीच सहमति भएपछि किसानहरूले आन्दोलन स्थगन गरेका छन्। आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव पशुपति ढुंगाना, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियशनका पदाधिकारीबीच ६ बुँदे सहमति भएको हो।
सहमति अनुसार, दुग्ध उत्पादक कृषकलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम वि.सं. २०८२ असार मसान्तसम्मको २०८२ असोज ५ गतेभित्र, साउन मसान्तसम्मको बाँकी रकम २०८२ असोज ३० गतेभित्र र भदौ मसान्तसम्मको रकम कार्तिक मसान्तसम्म भुक्तानी गरिनेछ। त्यसपश्चात नियमित भुक्तानी प्रणाली कार्यान्वयन गरिने सहमति भएको छ।
दुग्ध विकास संस्थान (डीडीसी) ले मात्र किसानलाई तिर्नुपर्ने बक्यौता झन्डै १ अर्ब रुपैयाँ पुगेको छ। दूधको भुक्तानीका लागि डीडीसीले २०७८ यता अर्थ मन्त्रालयसँग १ अर्ब २५ करोड ऋण लिए पनि किसानको बक्यौता अझै बाकी छ। यस्तै, सरकारी तथा निजी क्षेत्रबाट किसानहरूले झन्डै ३ अर्ब रुपैयाँ उठाउन बाँकी रहेको बताइएको छ।