अपि हिमालमा पहिलो पटक ठूलो संख्यामा आरोहण, सुदूरपश्चिम पर्यटन प्रवर्द्धनको ऐतिहासिक कदम – Sagarmathapana:: Online News Portal

अपि हिमालमा पहिलो पटक ठूलो संख्यामा आरोहण, सुदूरपश्चिम पर्यटन प्रवर्द्धनको ऐतिहासिक कदम

   २०८२ भाद्र १८ गते  

काठमाडौं।सुदूरपश्चिम प्रदेशको दार्चुलामा पर्ने ७,१३२ मिटर उचाइको अपि हिमाल र नजिकैको ६,३९५ मिटर उचाइको ल्हायुल पिकमा पहिलो पटक ठूलो संख्यामा आरोहण हुने भएको छ।

नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) र नेपाल पर्वतारोहण संघको सहकार्यमा सञ्चालन भइरहेको “दिगो पर्यटन परियोजना (एसटीपी)” अन्तर्गत प्रशिक्षक र प्रशिक्षार्थीहरूको टोली अपि क्षेत्रमा आरोहणका लागि तयारीमा रहेको हो।

काठमाडौंमा दुई हप्ता सैद्धान्तिक तालिम सकेका १४ जना प्रशिक्षार्थी र ६ जना प्रशिक्षकले अब अपि हिमाल क्षेत्रमा दुई हप्ता प्रयोगात्मक तालिम लिनेछन्। तालिमपछि प्रशिक्षार्थीहरूले ल्हायुल पिकमा आफैं बाटो बनाएर आरोहण गर्नेछन् भने प्रशिक्षकसहित ७ जनाले अपि हिमाल आरोहण गर्ने योजना छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौंमा प्रशिक्षण टोलीलाई बिदाइ गर्दै अभियानलाई ऐतिहासिक कदमका रूपमा उल्लेख गरेका छन्। उनका अनुसार यसले सुदूरपश्चिममा पर्यटन पूर्वाधार, स्थानीय सहकार्य र रोजगारीका अवसर विस्तारमा टेवा पुर्‍याउनेछ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अपि हिमाल जस्ता ओझेलमा परेका गन्तव्यलाई प्रवर्द्धन गर्दै दीगो पर्यटन विकास, सीपयुक्त जनशक्ति उत्पादन र स्थानीय समुदायलाई लाभ हुने अपेक्षा व्यक्त गरे।

यससँगै स्थानिय १५ जना ट्रेकिङ गाइडलाई पनि माउन्टेन नेभिगेसन र क्याम्पिङ तालिम दिइने भएको छ। पर्यटन व्यवसायीहरूले यसलाई ‘भर्जिन टुरिजम डेस्टिनेसन’ को प्रवर्द्धनका लागि महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै