कालोबजारी र महँगी नियन्त्रण गर्न कडा कारबाही गर्ने उपप्रधानमन्त्री सिंहको चेतावनी – Sagarmathapana:: Online News Portal

कालोबजारी र महँगी नियन्त्रण गर्न कडा कारबाही गर्ने उपप्रधानमन्त्री सिंहको चेतावनी

   २०८२ भाद्र १२ गते  

बुटवल।उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले चाडपर्वलाई लक्षित गरेर बढ्ने कालोबजारी र महँगी नियन्त्रण गर्न कठोर कदम चाल्ने चेतावनी दिएका छन्।

बुधवार बुटवलमा नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले बजारमा देखिने अनियमितता नियन्त्रणका लागि कडाइका साथ अनुगमन भइरहेको जानकारी दिए।



“चाडपर्वको मौका छोपेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने, कालोबजारी गर्ने जो कोहीलाई सरकारले कारबाही गर्छ,” सिंहले भने।

उनले उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभोक्ताको हकअधिकार सुरक्षित गर्न र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, विभिन्न जिल्ला पार्टी सभापति, उद्योग वाणिज्य संघका प्रतिनिधि, रूपन्देहीका उद्योगी व्यवसायी तथा उपभोक्ताको उपस्थितिमा आयोजित कार्यक्रममा सहभागीहरूले सिमावर्ती क्षेत्र हुँदै अस्वस्थकर सामान भित्रिन रोक्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्व नजिकिँदा महँगी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने सुझाव सरकारलाई दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै