कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता घोषणा – Sagarmathapana:: Online News Portal

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता घोषणा

   २०८२ भाद्र ७ गते  

काठमाडौं।कर्णाली प्रदेशको संस्कृति, भाषा र पर्यटनलाई विश्वसामु चिनाउने उद्देश्यसहित सुरु गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८२ अन्तर्गत ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता काठमाडौंमा औपचारिक रूपमा घोषणा गरिएको छ।

नेपाल पर्यटन बोर्डमा शुक्रबार सम्पन्न कार्यक्रममा महोत्सव सल्लाहकार तथा मध्य पश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षता थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्वमुख्यमन्त्री जीवन बहादुर शाही, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी, चलचित्र अभिनेता तथा निर्माता दीपक राज गिरीसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।

महोत्सव निर्देशक चक्र बहादुर चन्दका अनुसार प्रतियोगिताको उद्देश्य कर्णालीका लुकेर रहेका कथा, इतिहास, संस्कृति र सामाजिक यथार्थलाई चलचित्रमार्फत उजागर गर्नु हो। नेपाल पर्यटन बोर्डका सीईओ दीपक जोशीले कर्णालीलाई विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न कथालाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सकिने बताए।

चलचित्र निर्माता दीपक राज गिरीले चलचित्र नै कर्णाली चिनाउने उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै महोत्सवको यो पहल सराहनीय भएको बताए। त्यस्तै, पूर्वमुख्यमन्त्री शाहीले प्रतियोगिता र महोत्सवलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतियोगितामा नेपाल वा विदेशमा रहेका कुनै पनि नेपाली नागरिक सहभागी हुन सक्नेछन्। कथा मौलिक, अप्रकाशित र चलचित्रमा प्रयोग नभएको हुनुपर्नेछ। उत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार दिइनेछ भने उत्कृष्ट १५ कथाका लेखकलाई चलचित्र स्क्रिप्ट लेखन तालिममा सहभागी गराइनेछ।

कथा पेस गर्ने अन्तिम म्याद २०८२ पुस १६ गते तोकिएको छ भने परिणाम माघ १८ गते सार्वजनिक गरिनेछ। स्क्रिप्ट लेखन तालिम फाल्गुन १३ गते हुने र पुरस्कार वितरण समारोह फाल्गुन २३ गते काठमाडौंमै आयोजना गरिनेछ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत सञ्चालन भइरहेको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीलाई विश्वस्तरीय चलचित्र पर्यटन गन्तव्य बनाउने दीर्घकालीन लक्ष्य लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै