मुलुकी संहिता दिवसमा प्रधानमन्त्री ओलीको प्रतिबद्धता
“लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउनै सक्दैन”
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन नआउने स्पष्ट धारणा राख्नुभएको छ ।

मुलुकी संहिता दिवस–२०८२ का अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले संविधान र कानुनको प्रभावकारी कार्यान्वयनका लागि शक्ति पृथकीकरण र संस्थागत सन्तुलन अपरिहार्य रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले हालसम्मका अनुभव र आवश्यकताअनुसार विभिन्न कानुन संशोधन तथा नयाँ कानुन ल्याउने प्रक्रिया निरन्तर भइरहेको जानकारी दिनुभयो । “हामीले धेरै विधेयक संसद्को चालु अधिवेशनमै पेश गरेका छौँ । यो प्रक्रिया निरन्तर अघि बढ्छ । हाम्रो लक्ष्य राजनीतिक लोकतन्त्रमा मात्र सीमित नभई परिपूर्ण लोकतन्त्र निर्माण गर्नु हो,” प्रधानमन्त्रीको भनाइ थियो ।
बहुविवाहलाई कानुनी मान्यता दिने भ्रम फैलाउन खोजिएको भन्दै उहाँले त्यसलाई पूर्णतः अस्वीकार गर्नुभयो । “आजको समाजले यस्तो प्रतिगमनकारी अभ्यासलाई कहिल्यै स्वीकार गर्ने छैन,” उहाँको भनाइ थियो ।
न्याय क्षेत्रमा छिटो, सुलभ र सही न्याय दिलाउनेतर्फ सरकार कटिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले न्यायपालिकाको स्वतन्त्रता र कार्यकारिणीको सहयोगबीच सन्तुलित सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै “सम्मान भनेको केवल जयजयकार होइन, व्यवहारमै निष्ठा देखिनुपर्छ” भन्ने धारणा राख्नुभयो ।
२०७४ सालमा संसद्बाट पारित मुलुकी संहिता २०७५ भदौ १ गतेदेखि लागू भएको हो । यस दिनलाई प्रत्येक वर्ष “मुलुकी संहिता दिवस” का रूपमा मनाइन्छ ।












