३१औँ विश्व आदिवासी दिवस धरानमा त्रिदिवसीय कार्यक्रमसहित मनाइने – Sagarmathapana:: Online News Portal

३१औँ विश्व आदिवासी दिवस धरानमा त्रिदिवसीय कार्यक्रमसहित मनाइने

   २०८२ श्रावण २० गते  

-निमा पोङ्स्युवा
धरान-सन् १९९४ मा संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर मनाउन थालिएको विश्व आदिवासी दिवस यस वर्ष ३१औँ संस्करणमा प्रवेश गर्दैछ । अगस्ट ९ (साउन २४) मा मनाइने यस दिवसलाई संसारभर ३७ करोड आदिवासी, ७,००० भन्दा बढी भाषिक र ५,००० भन्दा बढी सांस्कृतिक समुदायहरूले विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने तयारी गरेका छन् ।


नेपालमा करिब ४० प्रतिशत जनसंख्या ओगट्ने आदिवासी जनजातिहरूले आफ्नो ऐतिहासिक शासकीय भूगोलसँग जोडिएको सामाजिक-सांस्कृतिक पहिचान, स्वशासित स्वायत्तता, पूर्ण समावेशी समानुपातिक संवैधानिक व्यवस्था र संस्थागत प्रतिष्ठाका मागहरूलाई अघि सार्दै आएका छन् । यिनै मुद्दाहरूलाई लिएर नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नारासहित दिवस मनाउन लागेको जनाएको छ ।

नेफिन उपमहानगर समन्वय परिषद धरानले पनि यस अवसरमा त्रिदिवसीय कार्यक्रम घोषणा गरेको छ :

साउन २२ गते (बिहीबार) बिहान ९ बजेदेखि ३ बजेसम्म धरान-१६ स्थित किरात याक्खा छुम्मा संघीय भवनमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिनेछ।

साउन २३ गते (शुक्रबार) बिहान ७ बजेदेखि १२ बजेसम्म धरान-२ को लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम हुनेछ। त्यसैदिन दिउँसो ३ बजे धरान रंगशालामा नेफिन धरान र धरान उपमहानगरपालिकाबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको छ।

साउन २४ गते (शनिबार) बिहान १०:३० बजे धरान-१२ पब्लिक हाइ स्कुल मैदानबाट सुरु हुने सांस्कृतिक झाँकी र्‍याली धरान-१५ स्थित चुम्लुङ भवनमा सभामा परिणत हुनेछ। उक्त सभामा मेयर हर्कराज साम्पाङ राई प्रमुख अतिथि र उपमेयर अइन्द्रविक्रम बेघा विशेष अतिथि रहनेछन्। कार्यक्रममा आदिवासी आन्दोलनका अगुवा एवम् बुद्धिजीवी प्रा.डा. कृष्ण भट्टचनले सम्बोधन गर्नेछन्।

नेफिन धरानले सम्पूर्ण आदिवासी जनजाति समुदायका साथै अन्य समुदाय, सामाजिक संघसंस्था, राजनीतिक दल, बुद्धिजीवी, सञ्चारकर्मी र सबै पेशागत व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै