चौरीखर्क–नव उदाउँदो पर्यटकीय गन्तव्य – Sagarmathapana:: Online News Portal

चौरीखर्क–नव उदाउँदो पर्यटकीय गन्तव्य

   २०८२ श्रावण ७ गते  

बागलुङ,पूर्वी रुकुम।बागलुङ र पूर्वी रुकुमको सीमा क्षेत्रमा पर्ने चौरीखर्क (स्थानीय नाम चुङ्री) पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। समुद्री सतहबाट झण्डै ४,००० मिटर उचाइमा फैलिएको यो रमणीय लेकाली भू–भागले अहिले प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेको रोजाइ पाउँदै गएको छ।

हरियाली डाँडा, रङ्गीचङ्गी वनफूल, छिनछिनमा रूप फेराउने बादल र सिरसिर बतासले भरिएको चौरीखर्कले आगन्तुकलाई अभूतपूर्व शान्ति र आनन्द दिन्छ। एक समय गोठालाको मात्रै बसोबास हुने यो क्षेत्र आजभोलि दैनिक सयौँ आन्तरिक पर्यटकले भरिन थालेको छ।

निसीखोला गाउँपालिका–६ का गोठाला भागविर घर्ती मगरका अनुसार, “पहिले सुनसान हुने चौरीखर्क अहिले भीडभाड हुन थालेको छ। सयौँ मानिस फूल, भेडीगोठ र हामीसँग फोटो खिच्न आउँछन्।” घर्तीका अनुसार, पर्यटक केही घण्टा रमाएर फर्किने मात्र होइन, टेण्ट टाँगेर बस्नेसमेत बढिरहेका छन्।

पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का अर्का गोठाला नमसिंह गुरुङ भन्छन्, “वर्खामा यहाँको हरियाली, फुल्ने फूल र भेडाका बथान पर्यटकलाई निकै मन पर्छ।”

चौरीखर्क पुग्न पातीहाल्नेबाट करिब आधा घण्टा गाडी र त्यसपछि साढे दुई घण्टा पैदल हिँड्नुपर्छ।

अघिल्लो वर्ष पर्यटन डिभिजन कार्यालय बाँकेले रु १० लाखको लागतमा रानीबास–पाइपा–चौरीखर्क पदमार्ग निर्माण गरेसँगै यहाँ पुग्ने बाटो अझ सहज भएको छ। कार्यालयका प्रमुख टङ्कनाथ खनालका अनुसार, “यस वर्ष लुम्बिनी प्रदेश सरकारले थप रु २५ लाख विनियोजन गरी पूर्वाधार विस्तारको योजना बनाएको छ।”

दाङबाट घुम्न आएका पर्यटक पारस न्यौपाने भन्छन्, “चौरीखर्क लेक अत्यन्तै सुन्दर छ। गर्मी ठाउँबाट यहाँ आएपछि साँचिकै स्वर्ग झैँ लाग्छ।” उनले स्थान–स्थानमा संकेत बोर्ड र विश्रामस्थल थपिए अझ सहज हुने सुझाव दिएका छन्।

सरकारी तहबाट चौरीखर्कको प्रचारप्रसार, पूर्वाधार विकास र दीर्घकालीन योजना बनाई अघि बढ्न सकेमा यो क्षेत्र निकट भविष्यमै देशकै एक प्रमुख आन्तरिक पर्यटन गन्तव्य बन्ने देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै