तनहुँको ऐनापहरामा स्काइ वाकको व्यवसायिक सञ्चालन :साहसिक पर्यटनमा नयाँ आयाम
तनहुँ,आँबुखैरेनी-तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐनापहरामा आजदेखि स्काइ वाकको व्यवसायिक सञ्चालन सुरु गरिएको छ। आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित यो स्काइ वाकले साहसिक पर्यटनमा नयाँ आयाम थपेको छ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार, ऐनापहरालाई पर्यटन हबको रुपमा विकास गर्ने लक्ष्यसहित १५ लाख रुपैयाँको लागतमा स्काइ वाक निर्माण गरिएको हो। कुल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकमा प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ, जसले साहसिक अनुभवलाई थप रोमाञ्चक बनाएको छ। स्काइ वाक प्रयोग गर्न चाहने पर्यटकले प्रतिव्यक्ति २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
अध्यक्ष चुमानले स्काइ वाकमार्फत हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा नयाँ रोमाञ्चक अनुभूति लिन सकिने बताएका छन्। उच्च मापदण्डअनुसार निर्माण गरिएको यो संरचनामा पर्यटकका लागि आवश्यक सुरक्षा उपायसमेत अपनाइएको छ।
वडाध्यक्ष आशबहादुर गुरुङका अनुसार पछिल्लो समय ऐनापहरा पर्यटक आकर्षणको केन्द्र बनेको छ। विशेष गरी बिदाको दिन र शनिबार एक हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्। पृथ्वीराजमार्गसँग नजिकै रहेको यस स्थानले सहज पहुँचका कारण पर्यटकको रोजाइमा पर्न थालेको उनले बताए।
स्थानीय कलाकृति र प्राकृतिक छटाले भरिएको ऐनापहरामा झरनाको चट्टानमा गणेशको आकृति, आमा र बच्चा तथा परीको आकृति कुँदिएको छ, जसले थप आकर्षण दिएको छ। साथै, महाभारत पर्वत शृङ्खलाको फेदीबाट बग्ने सिउढी खोलाको पानी झरनामा मिसिएर प्राकृतिक सौन्दर्य प्रदान गर्छ।
गाउँपालिकाका अनुसार ऐनापहराबाट हालसम्म ६० लाख रुपैयाँभन्दा बढी आम्दानी भइसकेको छ। थप पर्यटकीय विकासका लागि विस्तृत गुरुयोजना तयार भइसकेको छ, जसअनुसार बुद्धको मूर्ति, रेलिङ, पार्किङ, उद्यानलगायत संरचना निर्माण गरिनेछ। गुरुयोजना कार्यान्वयनका लागि करिब १० करोड रुपैयाँको बजेट आवश्यक पर्ने बताइएको छ।
ऐनापहराको स्काइ वाकले तनहुँको पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा दिएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक कला, र साहसिक रोमाञ्चको संगमले यो स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि एक प्रमुख गन्तव्य बन्ने सम्भावना बलियो देखिएको छ।












