बालेन शाह र पूर्वराष्ट्रपति भण्डारी भेटपछि पास भयो बजेट, एमालेभित्रै बढ्यो असहजता – Sagarmathapana:: Online News Portal

बालेन शाह र पूर्वराष्ट्रपति भण्डारी भेटपछि पास भयो बजेट, एमालेभित्रै बढ्यो असहजता

   २०८२ श्रावण ३ गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाको बजेट पाससँगै एमालेभित्रको आन्तरिक राजनीति नयाँ मोडमा पुगेको छ। पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारी र काठमाडौं महानगर प्रमुख बालेन शाहबीचको पछिल्लो भेटवार्ता पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि राजनीतिक रूपमा असहज बनेको बताइएको छ।

स्रोतका अनुसार, भण्डारीले बालेनसँग पछिल्लो समय बारम्बार संवाद र सहकार्य गर्दै आएको पृष्ठभूमिमा, बालेन नेतृत्वको महानगरले असार ३२ गते सहजै बजेट पारित गराएको छ। विपक्षी दलको रुपमा प्रस्तुत हुँदै आएको एमालेका केही नेताहरूले भने उक्त सहकार्यलाई पार्टी लाइनविपरीतको कदम भन्दै आलोचना गर्न थालेका छन्।

पार्टी अध्यक्ष ओली भने यस सम्बन्धमा चुप लागिरहेका छन्, तर उनको आन्तरिक सर्कलमा असन्तुष्टि बढिरहेको छ। एक एमाले नेता भन्छन्, “पूर्वराष्ट्रपति भण्डारीको सक्रियता र बालेनसँगको सम्बन्धले पार्टी नेतृत्वलाई अन्यौलमा पारेको छ।”

एमालेले महानगरको बजेटलाई आलोचना गर्ने संकेत गरिरहेको बेला, पार्टीकै एक प्रभावशाली नेतृको भूमिकाले ओली नेतृत्वको धारणा कमजोर देखिएको विश्लेषकहरूको टिप्पणी छ। पार्टीभित्रै दुई धार उभिन थालेको संकेत देखिएको छ– एक पक्ष भण्डारीको ‘परोक्ष कूटनीति’लाई समर्थन गरिरहेको छ भने अर्को पक्ष त्यसलाई अनुशासनहीनता मानेर खेद व्यक्त गर्दैछ।

यस घटनाले काठमाडौं महानगरको नीति निर्माणभन्दा बाहिर एमालेभित्रको गहिरो शक्ति संघर्षलाई पनि उजागर गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै