धरहरा अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, दुई सिफ्टमा सञ्चालन – Sagarmathapana:: Online News Portal

धरहरा अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, दुई सिफ्टमा सञ्चालन

   २०८२ श्रावण २ गते  

काठमाडौं-राजधानी काठमाडौं को पुनर्निर्मित धरहरा अब हरेक दिन १२ घण्टा खुला रहने भएको छ। सहरी विकास मन्त्रालयका अनुसार अबदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणको लागि खुला रहनेछ।

मन्त्रालयका प्रवक्ता नारायण मैनालीले धरहरा अब दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिँदै, “अब सार्वजनिक बिदाका दिन समेत धरहरा अवलोकन गर्न पाइनेछ,” भने।

यसअघि धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला थियो। नागरिकको व्यापक मागपछि समयावधि विस्तार गरिएको हो।

धरहरा विसं २०७२ मा गएको विनाशकारी भूकम्पले पूर्णरूपमा भत्किएको थियो। पुनःनिर्माणपछि गत असोज ३ गते परीक्षणका रूपमा पुनः सञ्चालनमा ल्याइएको थियो। मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि सशुल्क अवलोकन खुला गरिएको थियो।

धरहरामा सात महिनाको अवधिमा करिब २ लाख ३७ हजार ६५ जना अवलोकनकर्ता पुगेका छन्। यस अवधिमा टिकटबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले जनाएको छ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहराको समयावधि विस्तार गर्ने निर्णय नागरिक सुझावका आधारमा गरिएको जानकारी दिएका छन्।

धरहराको व्यवस्थापन “विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१” अनुसार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै