थप पाँच देशबाट रासायनिक मल ल्याउन पहल
काठमाडौँ । बङ्गलादेशबाट सरकार सरकार (जीटुजी) सम्झौताका आधारमा रासायनिक मल ल्याउन सफल भएपछि सरकारले अन्य थप पाँच देशबाट त्यही प्रक्रियाबाट मल ल्याउने पहल सुरु गरेको छ । त्यस क्रममा भारतबाट जीटुजीबाट मल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि मन्त्रालयले जनाएको छ । त्यससँगै चीन, बङ्गलादेश, ओमन, मोराकोलाई पनि मल खरिदका लागि सरकारी स्तरमा पत्र पठाइएको छ । एक साताअघि मात्र परराष्ट्रमार्फत पत्र पठाइएको र ती देशहरूबाट कुनै प्रतिक्रिया आई नसकेको जनाइएको छ ।
यी चारवटा देशबाट जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परराष्ट्रमन्त्रालयमार्फत यी देशहरूलाई पत्र पठाएको मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले बताए ।
घनश्याम भुसाल कृषि मन्त्री भएकाबेला पनि बङ्गलादेश, भारत, चीन, ओमान, मोराको, रुससँग जीटुजीमार्फत मल खरिद गर्ने प्रक्रिया सुरु गरेको थियो । तर त्यसमध्ये बङ्गलादेशबाट मात्र ल्याउन सफल भएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले बताए ।
कृषि समग्री कम्पनीसँग हाल नौ हजार मेट्रिक टन डीएपी, १८ हजार मेट्रिक टन युरिया मौज्दात छ । यो धान रोपाइँसम्मका लागि यो मलले पुग्छ । त्यसपछि धानका लागि चाहिने मलमा केही समस्या हुनसक्ने सम्भावना देखेपछि सरकार त्यसको व्यवस्थापनामा लागेको हो ।












