चिन्डेडाँडामा पर्यटकको चहलपहल बढ्दो,पूर्वी नेपालकै चर्चित हाइकिङ गन्तव्य बन्दै
धरान–धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गर्मीयामसँगै यहाँ आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ।
(नयाँ पूर्वीय पर्यटकीय केन्द्रका रूपमा चिन्डेडाँडाको उडान जारी…)

धरान बजार, इटहरी, चारकोसे झाडी र तराईका रमणीय दृश्यावलोकन गर्न सकिने चिन्डेडाँडा पूर्वी नेपालकै चर्चित हाइकिङ गन्तव्य बन्दै गएको हो। दैनिक सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन्। विशेष गरी धरान, इटहरी, झापा, चितवन, काठमाडौँलगायत स्थानबाट साथीभाइ वा परिवारसहित घुम्न आउनेहरू बढेका छन्।
विदेशबाट बिदामा आएका धरान–१६ का सुदीप श्रेष्ठ भन्छन्, “पहिले उजाड र नाङ्गो देखिने चिन्डेडाँडा अहिले निकै व्यवस्थित भएको रहेछ। गर्मीमा साथीभाइसँग घुम्न यो उपयुक्त गन्तव्य हो।”
इटहरीकी सुशीला राईका अनुसार गर्मीको मौसममा यहाँको वातावरण र दृश्यावलोकन एकदमै रमाइलो छ। “पहिलोपटक आएकी हुँ, तर गर्मीमा मान्छेहरूको घुइँचो देख्दा अचम्म लाग्यो,” उनले भनिन्।

धरान बजारबाट करिब १५–२० मिनेटमा मोटरसाइकल वा गाडीमा पुग्न सकिने चिन्डेडाँडा पैदलयात्राका लागि झन्डै एक घण्टा लाग्ने गर्छ। पहिले प्याराग्लाइडिङ सेवा समेत सञ्चालनमा रहेको यस क्षेत्रमा अहिले दर्जनौँ होटल र खाजा घर सञ्चालनमा छन्।
स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीयाममा दैनिक तीन सयजति पर्यटक चिन्डेडाँडा पुग्ने गरेका छन्। “यहाँ आउनेहरू लोकल कुखुरा, तोङ्वा, सुकुटी, भट्टु धानको भातजस्ता मौलिक परिकार निकै मन पराउँछन्,” उनले भनिन्।

व्यवसायी वसन्ती तामाङका अनुसार चिन्डेडाँडा खासगरी छोटो घुमफिरका लागि उपयुक्त छ। “दुई–चार घण्टा बसेर फर्किने धेरै पर्यटक आउँछन्, तर केही बास बस्नेहरू पनि हुन्छन्,” उनले भनिन्।
हाल सर्दु खोलामा निर्माण गरिएको पुलले यात्रा केही सहज बनेको भए पनि कच्ची सडकका कारण वर्षायाम र जाडोमा केही असहज हुने गुनासो व्यवसायीहरूको छ।
स्थानीयको भनाइमा पहिले डाँडा नाङ्गो देखिने भएकाले चिन्डेडाँडा भनिएको हो भने बाटो हिँड्नेहरू रमिता हेर्ने भएकाले ‘रमितेडाँडा’ नाम समेत चलनमा आएको हो।
डाँडाको नजिकै गुरुङ छाप, कार्की छापलगायत बस्ती छन् भने केही माथि कोशी प्रदेश सरकारको सहयोगमा भ्यूटावर पनि निर्माण गरिएको छ। यस क्षेत्रमा होमस्टे सेवा पनि विस्तार भएको छ।
धरानका नगरप्रमुख हर्कराज साम्पाङको नेतृत्वमा हाल किरात राई समुदायका देउता सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्ने तयारी भइरहेको छ। प्रमुख साम्पाङका अनुसार प्रतिमा स्थापना भएपछि चिन्डेडाँडा क्षेत्रको पर्यटन अझ प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायी बासु बराल भन्छन्, “चिन्डेडाँडा र वरपरको क्षेत्र आन्तरिक पर्यटनको दृष्टिले निकै सम्भावनायुक्त छ। स्थानीय संस्कृति, प्रकृति र पाहुना सत्कारका कारण यहाँको पर्यटन भविष्य उज्यालो देखिन्छ।”












