धनकुटामा भ्रष्टाचारविरुद्धको प्रदर्शन :यातायात कार्यालय प्रमुखलाई कालोमोसो
धनकुटा—नेकपा (बहुमत) धनकुटाले यातायात कार्यालय धनकुटाका प्रमुख बाबुराम लुईंटेललाई सेवाग्राहीसँग घुस लिएको आरोपमा कालोमोसो दलेको छ।
लुईंटेलमाथि लामो समयदेखि सेवाग्राहीलाई सास्ती दिने, अनावश्यक झन्झट गराउने र रकम असुली गर्ने आरोप लाग्दै आएको थियो। सर्वसाधारणले पटकपटक ध्यानाकर्षण गराउँदा पनि उनले कुनै सुधार नगरेपछि आक्रोशित नेकपा (बहुमत) का कार्यकर्ताहरूले प्रत्यक्ष कारबाहीको रुपमा कालोमोसो दलेका हुन्।
घटनापछि स्थानीयबासीले पनि भ्रष्टाचारविरुद्धको यो कदमको समर्थन जनाएका छन्। ‘हामीले धेरै पटक गुनासो गर्यौं, तर कुनै सुनुवाइ भएन,’ एक सेवाग्राहीले भने, ‘अब जनताले आफैं बोल्न थालेका छन्।’
प्रहरीले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ भने प्रमुख लुईंटेलले आरोप अस्वीकार गरेका छन्। यता, नेकपा (बहुमत) धनकुटाका नेताहरूले भने यो ‘चेतावनीमूलक कारबाही’ मात्र भएको र अब पनि सुधार नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
यस घटनाले सरकारी सेवामा भइरहेको अनियमितता र जनआक्रोश पुनः सतहमा ल्याएको छ।












