प्रधानमन्त्री ओली आज हुम्ला जाँदै, ५२ मिटरको बेलिब्रिज उद्घाटन हुँदै – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओली आज हुम्ला जाँदै, ५२ मिटरको बेलिब्रिज उद्घाटन हुँदै

   २०८२ असार २२ गते  

काठमाडौँ।कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खार्पुस्थित दोजाम कर्णाली नदीमा निर्मित ५२ मिटर लामो बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदै हुनुहुन्छ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उहाँ बिहान साढे ८ बजे काठमाडौंबाट हुम्ला प्रस्थान गर्ने कार्यक्रम छ। सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि प्रधानमन्त्रीसँगै हुम्ला जाने तय भएको नेकपा एमाले कर्णाली प्रदेशका सदस्य नवराज महताराले जानकारी दिनुभयो।

नेपाली सेनाले निर्माण गरेको सो बेलिब्रिज उद्घाटनसँगै हुम्लाको सदरमुकाम सिमिकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ। अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला नै नेपालको एकमात्र जिल्ला थियो। करिब २६ वर्षदेखि सडक निर्माणका प्रयास भइरहे पनि औपचारिक रुपमा सिमिकोट सडक सञ्जालमा जोडिएको थिएन।

प्रधानमन्त्री ओलीको उपस्थितिमा आज पुल उद्घाटनपछि कर्णाली करिडोरमार्फत हुम्लावासीको यातायात र जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै