उपाध्यक्ष पाण्डेको सुझाव :पर्यटकीय क्षेत्र २४ घण्टा खुला राख्न विशेष सुरक्षा व्यवस्था आवश्यक
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी ढंगले विकास गर्न जोड दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित अर्थतन्त्र दशक जर्नल सार्वजनिक समारोह तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि विषयक अन्तरक्रियामा बोल्दै उनले नेपालमा प्रमुख पर्यटकीय क्षेत्रहरू राति चाँडै बन्द गरिनु अनुचित भएको टिप्पणी गरे।
उपाध्यक्ष पाण्डेका अनुसार ठमेल, पोखरा, सौराहा जस्ता पर्यटक केन्द्रहरू राति ९ बजेपछि बन्द गरिँदा विदेशी पर्यटकहरू निराश बन्न बाध्य हुन्छन्। “पर्यटक नेपाल सुत्न होइन, अनुभव गर्न आउँछन्। राति होटल बन्द गर्नु, प्रहरी नहुँदा सुरक्षाको बहाना गर्नु पर्यटनमैत्री सोच होइन,” उनले प्रष्ट पारे।
उनले ठमेल लगायतका पर्यटकीय क्षेत्रलाई २४ घण्टा सञ्चालन गर्न विशेष सुरक्षा व्यवस्था गर्न सकिने बताए। “स्पेशल पुलिस राखेर क्षेत्रलाई सुरक्षित बनाउने हो भने व्यवसाय बढ्छ, रोजगारी सिर्जना हुन्छ र अर्थतन्त्रलाई बल पुग्छ,” पाण्डेले सुझाव दिए।
भारतबाट विवाहका लागि आउने पर्यटक संख्यामा वृद्धि भइरहेको भन्दै पाण्डेले पूर्वाधार तथा व्यवस्थापन सुधार गर्न आवश्यक रहेको उल्लेख गरे। उनले पर्यटन क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड बनाउने हो भने आर्थिक समृद्धि हासिल गर्न सहज हुने विश्वास व्यक्त गरे।












