इटहरी मेयरको टिप्पणीमाथि पत्रकार महासंघको आपत्ति : आरोप पुष्टि गर्न चुनौती – Sagarmathapana:: Online News Portal

इटहरी मेयरको टिप्पणीमाथि पत्रकार महासंघको आपत्ति : आरोप पुष्टि गर्न चुनौती

   २०८२ असार २० गते  

इटहरी,सुनसरी।इटहरी उप-महानगर पालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकारिता र पत्रकारहरूमाथि सामाजिक सञ्जालमा गरेको टिप्पणीविरुद्ध नेपाल पत्रकार महासंघ, सुनसरीले कडा आपत्ति जनाएको छ। महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त टिप्पणीलाई प्रेस स्वतन्त्रतामाथि प्रहार र अभिव्यक्तिको गैरजिम्मेवार प्रयोगको संज्ञा दिएको छ।

मेयर पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए, “भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिले हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा।”

महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकारहरूमाथि गरिएको व्यक्तिगत आरोप र अनावश्यक टिप्पणीले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि गम्भीर आघात पुर्‍याएको छ। यस्तो गैरजिम्मेवार अभिव्यक्तिले लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसको सिद्धान्तमाथि प्रहार गर्छ।”

महासंघले मेयर पौडेललाई पत्रकारहरूमाथि लगाइएका अनाहक आरोप पुष्टि गर्न सार्वजनिक रूपमा चुनौतीसमेत दिएको छ। साथै, सबै जनप्रतिनिधिहरूलाई मर्यादित भाषा र जिम्मेवार अभिव्यक्तिको प्रयोग गर्न आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै