१००० युवालाई लक्षित गर्दै ‘ EV स्वरोजगार’ अभियान : हरित अर्थतन्त्रतर्फको नेपाली पाइला
काठमाडौं।नेपालमा बढ्दो बेरोजगारी र विदेशी इन्धनमा निर्भरता घटाउन महत्वाकांक्षी स्वरोजगार योजना सार्वजनिक हुँदैछ। ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त पहलमा तयार गरिएको यो योजनाले १००० नेपाली युवालाई आफ्नै श्रम र दक्षता मार्फत हरित यातायात क्षेत्रमा भविष्य निर्माण गर्न प्रोत्साहित गर्नेछ।
असार २१ गते ललितपुरको भैसेपाटीस्थित कोलोनी सेन्टरमा औपचारिक उद्घाटन गरिने योजनाअन्तर्गत, युवाहरूलाई न्यूनतम भाडामा अत्याधुनिक इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। यस स्कुटरको प्रयोग राइड सेयरिङ प्लेटफर्ममार्फत हुने छ, जसले दैनिक आम्दानी मात्र होइन, स्वदेशी उत्पादन र हरित ऊर्जा प्रयोगमार्फत अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

नेपालमै उत्पादित विद्युत, स्वदेशमै रोजगारी
‘तपाईको बजार’का संचालक सुशील सङ्रौलाका अनुसार, “नेपालमा यति ठूलो संख्यामा EV स्वरोजगार योजना पहिलो पटक हुन लागेको हो। यो न केवल रोजगारी सिर्जना गर्ने योजना हो, यो नेपालको हरित ऊर्जा प्रयोगलाई व्यापारिक ढाँचामा जोड्ने प्रयास हो।”
योजना अन्तर्गत युवाहरूले रोजगारीका तीन मोडलमा सहभागी हुन सक्नेछन्—
कर्मचारीका रूपमा काम गर्ने राइडरका रूपमा दैनिक भाडामा स्कुटर लिएर स्वरोजगार बन्ने लगानीकर्ता बनेर आफ्नै स्कुटरमार्फत मासिक भाडा आम्दानी गर्ने
विदेशी पेट्रोलको साटो स्वदेशी बिजुली प्रयोग
यस योजनाले विशेष रूपमा नेपालमै उत्पादित जलविद्युत प्रयोगमा जोड दिनेछ। ‘इ-ड्राइभ नेपाल’का CEO सबिन भट्टराईका अनुसार, “नेपालमा वार्षिक अर्बौं रुपैयाँ विदेशी इन्धन आयातमा खर्च हुने गरेको छ। EV स्वरोजगार योजनाले स्वदेशी बिजुली प्रयोगमा आधारित सवारी प्रणालीलाई प्रोत्साहन दिनेछ, जसले देशको अर्थतन्त्रमा दीर्घकालीन फाइदा पुर्याउनेछ।”
अन्तर्राष्ट्रिय प्लेटफर्मको सहकार्य, नेपाली लगानी
योजना सफल कार्यान्वयनका लागि Yango जस्ता अन्तर्राष्ट्रिय स्तरका राइड सेयरिङ प्लेटफर्मसँग प्रविधि साझेदारी गरिएको छ। तर पूरै योजना भने नेपाली लगानीमै आधारित छ, जसले स्वदेशी लगानीकर्ताको आत्मविश्वास झनै बढाउने अपेक्षा गरिएको छ।
परिमिता ग्रुपका निर्देशक मनन तुलाधारका अनुसार, उद्घाटन कार्यक्रममा उद्योग, ऊर्जा र यातायात क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहनेछ। उनी भन्छन्, “यो कार्यक्रम स्वरोजगार र हरित यातायात प्रवर्द्धनमा ऐतिहासिक मोड हुनेछ।”
नेपालमा युवा बेरोजगारी दर उच्च रहेको वर्तमान समयमा यस्तो योजना सरकारी तहमा भन्दा निजी क्षेत्रको पहलमा अघि बढ्नु स्वयं उदाहरणीय छ। योजनाले दीर्घकालमा हरित अर्थतन्त्र, स्वदेशी स्रोतको सदुपयोग र प्रविधि हस्तान्तरणमा नयाँ ढोका खोल्न सक्छ।












