सोलुखुम्बुबाट जिल्ला बाहिरने सवारी साधनको समय निर्धारण, यात्रुहरूलाई अब सहज यात्रा
सोलुखुम्बु।सोलुखुम्बु जिल्लाबाट बाहिरिने सवारी साधनको समय तालिका निर्धारण गरिएको छ। यात्रुहरूलाई राती २–३ बजे उठ्नुपर्ने बाध्यताको अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय सल्लेरीमा बुधबार बसेको समन्वय बैठकले नयाँ समय तालिका तय गरेको हो।

प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेका अनुसार बस सेवाका लागि बिहान ४ बजे पूर्वतर्फ, साढे ४ बजे काठमाडौँतर्फ पहिलो र बिहान ५ बजे अर्को बस छुट्नेछ। सुमो सेवाका लागि पूर्वतर्फ बिहान साढे ४ बजे र काठमाडौँतर्फ बिहान ५ बजे सल्लेरीबाट सवारी छुट्ने निर्णय गरिएको छ।
पानी परेको अवस्थामा सवारी व्यवस्थापनका लागि विशेष व्यवस्था मिलाइएको छ। बाहिरिने सवारी साधन जोरबौद्धमा, भित्रिने सवारी साधन पत्तालेमा, र पत्ताले पार गरेका सवारी साधन रमितेमा रोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो।
बैठकमा चाँडै नै सवारी भाडा दर समेत निर्धारण गरिने निर्णय भएको छ। बस, सुमो, बोलेरो र टेम्पो लगायत सवारी साधनसम्बन्धी विविध तर्क प्रस्तुत गरिएको बैठकमा सुरक्षा निकाय, जनप्रतिनिधि र यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।
प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा बसेको समन्वय बैठकले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै सवारी व्यवस्थापनमा एकरूपता ल्याउने निष्कर्ष निकालेको छ।












