सगरमाथा आरोहणतर्फ सुमन राईको तयारी : मेरा पिक सफल आरोहण, नयाँ कीर्तिमानका लागि अग्रसर – Sagarmathapana:: Online News Portal

सगरमाथा आरोहणतर्फ सुमन राईको तयारी : मेरा पिक सफल आरोहण, नयाँ कीर्तिमानका लागि अग्रसर

   २०८२ असार १७ गते  

काठमाडौं।चलचित्र गोर्खा वारियर का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक अभियानसहित गरिएको यो आरोहणले राईको अबको लक्ष्य सगरमाथा (एभरेस्ट) आरोहणतर्फ उन्मुख भएको स्पष्ट संकेत दिएको छ।

पूर्वगोर्खा सैनिकसमेत रहेका राई नेतृत्वको अनुग्रह ग्रुप बेलायतमा व्यवसाय र सामाजिक उत्तरदायित्वमा सक्रिय संस्था हो। अनुग्रह ज्वेलर्स, न्यु अनुग्रह ज्वेलर्स, अनुग्रह बुलिन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह गोल्ड हाउस तथा अनुग्रह फाउन्डेसन जस्ता कम्पनीहरू अनुग्रह ग्रुपअन्तर्गत सञ्चालनमा छन्।

सुमन राई निर्माता रहेको गोर्खा वारियर चलचित्रले बेलायतको लिसेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शन (प्रिमियर) गर्दै नेपाली चलचित्र क्षेत्रमा नयाँ कीर्तिमान राखेको थियो। निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्देशित उक्त चलचित्रले गोर्खालीको वीरता र इतिहासलाई उजागर गरेको छ।

सामाजिक सेवामा पनि उतिकै सक्रिय अनुग्रह फाउन्डेसनले आफ्नो आम्दानीको १० प्रतिशत शिक्षा, स्वास्थ्य, खानेपानी, वृद्ध, बालबालिका तथा ग्रामीण विकासका क्षेत्रमा खर्च गर्दै आएको छ। ‘शून्यदेखि सगरमाथासम्म’ भन्ने नाराका साथ सुरु गरिएको अभियानको अर्को चरण सगरमाथा आरोहण र वातावरणीय सचेतनामा केन्द्रित हुनेछ।

राईको यो प्रयास Fundrise Social Campaign मार्फत ग्लोबल वार्मिङविरुद्ध जनचेतना जगाउने, वातावरण संरक्षण गर्ने र भविष्यका पुस्ताका लागि सुरक्षित पृथ्वीको सन्देश दिन केन्द्रित छ। यस अभियानमा अनुग्रह टिमका शुभेच्छुकहरूसँगै NCCA UK, NCC UK, तमु धिं UK, किरात राई यायोख्खा, खोटाङ समाज र थुलुङ राई समाजलगायत विभिन्न प्रवासी नेपाली संघसंस्थाहरूको उल्लेखनीय साथ, समर्थन र सहभागिता रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै