विद्यार्थी जीवनको कथामा ‘पीआर’:अस्ट्रेलियाको भोगाइ,नेपाली परिवारको पीडा – Sagarmathapana:: Online News Portal

विद्यार्थी जीवनको कथामा ‘पीआर’:अस्ट्रेलियाको भोगाइ,नेपाली परिवारको पीडा

   २०८२ असार १३ गते  

काठमाडौं।अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूको जीवन सङ्घर्ष र उनीहरूको परिवारको पीडालाई पर्दामा उतार्ने तयारीमा रहेको चलचित्र ‘पीआर’ को टिजर सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक विशेष समारोहमा बिहीबार टिजर रिलिज गरिएको हो।

सलोन सलिना फिल्मसको ब्यानरमा बनेको यो चलचित्रले वैदेशिक भूमिमा नेपाली युवाहरूले भोग्नुपर्ने यथार्थतालाई समेटेको छ। टिजरमा अस्ट्रेलियामा पठनपाठन र कामसँग संघर्षरत विद्यार्थीहरूका कथाहरु र नेपालमा बसिरहेका परिवारका आशा, पीडा र सपना देखाइएको छ।

चलचित्रमा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल को अभिनय देख्न पाइनेछ। त्यस्तै, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी पनि देखिनेछन्।

फिल्मको निर्देशन तथा कथालेखन शोभित बस्नेत ले गरेका हुन्। निर्माणमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा छन्।

चलचित्रमा मानस राज र भिम बिसी को संगीत, रामजी लामिछाने को कोरियोग्राफी, गणेश बुढाथोकी को पटकथा र संवाद, छायांकनमा सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल), सम्पादनमा बन्दे प्रसाद को भूमिका रहेको छ।

निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन करिब ६० प्रतिशत अस्ट्रेलियाका विभिन्न शहरहरूमा र ४० प्रतिशत नेपालमा गरिएको हो। आरआर फिल्मसले वितरण गर्ने चलचित्र अस्ट्रेलिया र न्यूजिल्यान्डका सबै सहरहरूमा यस महिनाको अन्त्यसम्म रिलिज हुने तयारीमा छ भने दशैंको अवसरमा विश्वव्यापी रूपमा प्रदर्शन गरिने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै