झुम्कामा सम्पन्न चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव – Sagarmathapana:: Online News Portal

झुम्कामा सम्पन्न चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

   २०८२ असार ११ गते  

इटहरी।सुनसरीको रामधुनी नगर पालिका स्थित झुम्कामा ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। थारु समुदायको मौलिकता, कला, संस्कृति तथा फिल्म क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित असार ६ र ७ गते दुई दिनसम्म आयोजना गरिएको महोत्सवले समुदायको पहिचान संरक्षणमा सशक्त योगदान पुर्याएको आयोजकको भनाइ छ।

थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजनामा सम्पन्न महोत्सवमा मोरङ र सुनसरी कार्य समितिहरू सह–आयोजक थिए। महोत्सवको पहिलो दिन झुम्कास्थित कलश पार्टी प्यालेसमा तथा दोस्रो दिन म्याजिक सिनेमा हलमा कार्यक्रमहरू सञ्चालन भएका थिए।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए। उनले हप्तामा कम्तीमा एकपटक सांस्कृतिक कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रदेश सरकार यस्ता कार्यक्रमहरूलाई आर्थिक, भौतिक तथा नैतिक समर्थन गर्न तयार रहेको बताए।

महोत्सवमा थारु चलचित्र प्रदर्शन, सांस्कृतिक झाँकी, नृत्य प्रतियोगिता, थारु गीत–संगीतको प्रस्तुति, र विशिष्ट व्यक्तित्वहरूको सम्मानजस्ता कार्यक्रमहरू समावेश गरिएका थिए।

३२ वर्षअघि नेपाल टेलिभिजनबाट थारु भाषाको टेली श्रृङ्खला ‘जित्त भुत’ निर्देशन गरेका निर्देशक सागर ढुंगेललाई विशेष सम्मान गरिएको थियो। उनीसहित थारु समुदायको चलचित्र तथा सांस्कृतिक क्षेत्रमा योगदान दिने दर्जनौं कलाकार, निर्देशक, गायक, समाजसेवी, लेखकलाई कदरपत्रद्वारा सम्मान गरियो।

सम्मानित व्यक्तिहरूमध्ये पूर्व था.क.स. अध्यक्षहरू नरेन्द्र कुमार चौधरी र चन्द्र कुमार चौधरी, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, समाजसेवी सिताराम चौधरी, दीपा नारायण चौधरी, गायक फणीन्द्र सुवेदी, मोडल गणेश बहादुर राउत आर्यान, संगीतकार रामा मण्डल, निर्माता लाखमान योञ्जन, निर्देशक भीम लामा, संगीतकार सत्यनारायण चौधरी लगायत थिए।

झाँकी प्रतियोगितामा जब्दी टोल विकास, रामधुनी–१ ले उत्कृष्ट प्रस्तुति दिँदै ५ हजार नगद पुरस्कार प्राप्त गर्‍यो। यस्तै, नृत्य प्रतियोगितामा ‘रियालिटी क्रु’ ले प्रथम स्थान हासिल गर्दै १० हजार नगद, ‘भर्सटायल डान्स ग्रुप’ ले दोस्रो स्थानसहित ७ हजार, र ‘एसडी क्रिएशन’ ले तेस्रो स्थानसहित ५ हजार नगद पुरस्कार जिते।

महोत्सवको समापन कार्यक्रममा प्रमुख अतिथि पूर्व केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरी थिए। कार्यक्रममा सुनसरी, मोरङ, सप्तरी, उदयपुरलगायत जिल्लाबाट कलाकार, निर्माता, निर्देशक, वितरक, चलचित्रकर्मी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न यस महोत्सवले थारु समुदायको पहिचान, सांस्कृतिक सम्पदा र कला क्षेत्रलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै