सतीदेवी’ विशेष प्रदर्शनी तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह भव्य रूपमा सम्पन्न
सुर्खेत–वीरेन्द्रनगरस्थित लक्ष्मी चलचित्र मन्दिरमा नेपाली चलचित्र ‘सतीदेवी’ को विशेष प्रदर्शनी तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह भव्यता र भावनात्मक वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, ऊर्जा मन्त्री विजया बुढा, वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

चलचित्र हेर्न आएको दर्शकको उल्लेखनीय भीडले हल भरिएको थियो। ‘सतीदेवी’ हेरेपछि धेरै दर्शकहरू भावुक बनेका थिए। निर्देशक लक्ष्मण सुवेदीले दर्शकको मायाले आफूलाई गहिरो रूपमा छोएको बताउँदै भने,
“सुर्खेतमा यस्तो भव्य स्वागत, माया र साथ पाउँदा म सबैप्रति आभार व्यक्त गर्दछु। धेरैलाई रुवाएँ होला, माफ गर्नुहोस्। तपाईंहरूको साथ र आशीर्वादले अझ राम्रो सिर्जना गर्ने प्रेरणा मिलेको छ।”

उनका अनुसार ‘सतीदेवी’ केवल चलचित्र मात्र नभई एक नारीको साहस, संघर्ष र अस्तित्वको भावुक गाथा हो।
“मलिका महतले यो भूमिकामा जुन समर्पण र गहिरो अभिनय देखाइन्, त्यो अविश्वसनीय छ। उनीभित्रको कलाकारिता र भावना नै फिल्मको आत्मा हो,” उनले बताए।
कार्यक्रम Playing for Change को आयोजनामा सम्पन्न भएको थियो। निर्देशक सुवेदीले सम्पूर्ण आयोजनाकर्ता तथा टिमप्रति धन्यवाद प्रकट गर्दै भने,
“आजको सम्मान र उपस्थितिले मलाई अझ जिम्मेवार बनाएको छ। ‘सतीदेवी’ मेरा लागि फिल्म मात्र होइन, भावना र समर्पणको कथा हो। तपाईंहरूको मायाले यो फिल्मलाई अर्थ दिएको छ।”
साथै, कार्यक्रममा कर्णाली उत्कृष्ट नारी सम्मान पनि प्रदान गरिएको थियो। कर्णाली क्षेत्रका विभिन्न सामाजिक, शैक्षिक, सांस्कृतिक तथा सेवा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने महिलाहरूलाई सम्मान गरिएको थियो।
समारोहले चलचित्रप्रेमी, नारी सशक्तिकरणमा विश्वास राख्नेहरू र कर्णालीका गौरवशाली योगदानकर्ताहरूलाई एकै थलोमा जोड्न सफल भएको आयोजकले जनाएका छन्।













