हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानविन समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउने – Sagarmathapana:: Online News Portal

हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानविन समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउने

   २०८२ असार २ गते  

काठमाडौं—मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानविन समिति गठन गरेको छ।

मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयबाट गठित पाँच सदस्यीय अध्ययन तथा छानविन समितिको संयोजकत्व सडक विभागका उपमहानिर्देशक ललिजन खनालले गर्नेछन्। समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजनका प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य छन्।

समितिलाई पुल भत्कनुको कारण पहिचान गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनु पर्ने उपाय सुझाउन, र तत्कालका लागि अस्थायी यातायात सञ्चालनका सम्भावनाबारे स्थलगत अध्ययन गरेर सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। समितिले आइतबारदेखि काम सुरु गरिसकेको मन्त्रालयले जनाएको छ।

पुल भाँचिँदा केही मजदुर घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्री दाहालले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न सचिव केशवकुमार शर्मा र विभागीय महानिर्देशक डा. बिजय जैसीलाई निर्देशन दिएका छन्।

सरकारले यस्ता घटनाप्रति जिम्मेवारी लिँदै प्रभावकारी अनुगमन र गुणस्तरीय निर्माण सुनिश्चित गर्ने दिशामा ध्यान दिने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै