प्रतिनिधिसभाको बैठक पुनः आज बस्दै, प्रतिपक्षी दलहरूको अवरोध कायमै
काठमाडौं-संघीय संसद भवन, नयाँ बानेश्वरमा आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक दिउँसो ३:०० बजेका लागि बोलाइएको छ। पछिल्लो केही बैठकहरू लगातार अवरोधका कारण स्थगित भइरहेका छन्।
हिजोको बैठक पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण सुचारु हुन सकेन। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायत दलहरूले गृह मन्त्रालय अन्तर्गतको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध गरेका छन्।
हिजो अपराह्न १:०० बजेका लागि तय गरिएको बैठक झन्डै दुई घण्टा ढिला भई ३:१५ बजे सुरु भएको थियो। तर बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।
हिजोको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरिने तयारी थियो। साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि तय गरिएको थियो।
प्रतिपक्षको लगातारको अवरोधका कारण प्रतिनिधिसभा जेठ १३ गतेपछि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। विपक्षी दलहरू गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मागमा अडिग छन्, भने सत्ता पक्ष अझै सो मागप्रति स्पष्ट नहुँदा संसद्को कार्य सञ्चालन प्रभावित हुँदै आएको छ।












