धरानमा हेमराज जिमि याक्खाको नेतृत्वमा नेपाल आदिवासी जनजाति नगर महासंघको नयाँ समिति निर्वाचित – Sagarmathapana:: Online News Portal

धरानमा हेमराज जिमि याक्खाको नेतृत्वमा नेपाल आदिवासी जनजाति नगर महासंघको नयाँ समिति निर्वाचित

   २०८२ जेष्ठ २५ गते  

धरान—नेपाल आदिवासी जनजाति नगर महासंघ, धरानको नयाँ नेतृत्व हेमराज जिमि याक्खाको अध्यक्षतामा चयन गरिएको छ। धरान-१६ स्थित याक्खा छुम्माको केन्द्रीय कार्यालयमा सम्पन्न नगर अधिवेशनले लामो समयपछि नयाँ समिति निर्वाचित गरेको हो।

अध्यक्ष पदमा याक्खा समुदायबाट हेमराज जिमि र नेवा देय दबुबाट मनोहर शाक्यबीच प्रतिस्पर्धा हुँदा निर्वाचन प्रक्रिया अपनाउनु परेको थियो। निर्वाचनमा हेमराज जिमिले एक मतको झिनो अन्तरले जित हासिल गरेका छन्। निर्वाचन मण्डलका तेन्जिङ शेर्पाका अनुसार जिमिले ७ र शाक्यले ६ मत प्राप्त गरेका थिए।

त्यस्तै, सहसचिव पदका लागि भएको प्रतिस्पर्धामा लेखमान सुब्बाले ९ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नाम्जा भोटेले ७, अमन माझीले ५, र पुहुपलाल उराँवले ४ मत पाएका थिए।

अन्य पदहरूमा भने सर्वसम्मत रूपमा पदाधिकारीहरू चयन गरिएका छन्। महिला उपाध्यक्षमा विष्णु गुरुङ र सीता राई, उपाध्यक्षमा सम्फर तामाङ र केशब भुजेल, सचिवमा कर्ण सुनुवार, सहसचिवमा रिता मगर, र कोषाध्यक्षमा गोमछिरी शेर्पा (तिखे) निर्विरोध निर्वाचित भएका हुन्।

नेपाल आदिवासी जनजाति महासंघमा हाल ५९ जातीय संस्था आवद्ध छन्। नयाँ विधान अनुसार एक अध्यक्ष, दुई उपाध्यक्ष (एक महिला, एक पुरुष), एक सचिव र चार सहसचिव रहने व्यवस्था गरिएको छ। धरानमा हाल १३ जातीय संस्थाहरू सूचीकृत छन् भने बाँकी जातीय संस्थाबाट सदस्य चयन प्रक्रिया अगाडि बढाइने नव निर्वाचित अध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिए।

उक्त अधिवेशन नेपाल आदिवासी जनजाति संघीय परिषदका उपाध्यक्ष लहरु जिमि याक्खाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा माओवादी केन्द्र धरान नगर अध्यक्ष उद्वब लिम्बू, जसपा नेता ताजुप लिम्बू, र नेकपा एमाले नगर सदस्य शिवराज श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै