भोटखोलाका दुई सगरमाथा आरोहीलाई जेसिज कपनद्वारा सम्मान
काठमाडौं–विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने भोटखोलाका दुई युवालाई जेसिज कपनले विशेष समारोहमार्फत सम्मान गरेको छ। सम्मानित हुनेमा भोटखोला–४ निवासी दिपन गुरुङ र भोटखोला–३ हुङगुङ पाङ्दोकका छियाङ ज्याबु रहेका छन्।


जेसिज कपनले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमका प्रमुख अतिथि जेसि कृष्ण सापकोटा रहेका थिए। सापकोटाले युवाहरुको साहस र समर्पणले संस्थाको गौरव बढाएको भन्दै सराहना गरे।
२४ वर्षीय दिपन गुरुङले १४ मे २०२५ मा सगरमाथाको चुचुरोमा जेसिजको लोगो फहराएका थिए। गुरुङ यसअघि दुईपटक सफल आरोहण गरिसकेका थिए भने यो उनको तेस्रो सफल सगरमाथा आरोहण हो। उनले माउन्ट के–टु, अन्नपूर्ण, ल्होत्से लगायत ८ हजार मिटरभन्दा अग्ला पाँच हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेका छन्।

दिपनले भने, “विश्वकै अग्लो शिखरमा संस्थाको झण्डा फहराउन पाउँदा गर्व लागेको छ। अधिकांश ८ हजार मिटरभन्दा अग्ला हिमाल नेपालमै छन्, जुन हामी सबैका लागि गौरवको विषय हो।”
त्यसैगरी, १८ वर्षीय छियाङ ज्याबुले पहिलो प्रयासमै सगरमाथा चुचुरो टेक्न सफल भएका हुन्। उनले २३ मे २०२५ मा ३५ सदस्यीय टोलीसहित शिखर चुमेका थिए, जसमा २२ जना शेर्पा र १३ जना विदेशी सहभागी थिए। छियाङले भोटखोला लिङ्गमबाट एसईई उत्तीर्ण गरी तीन वर्षअघि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई विशिष्ट अतिथि थिए। उनले दिपन गुरुङको उदाहरण प्रस्तुत गर्दै भने, “दिपनजस्तै युवाले नाम, दाम र कामको प्रेरणा दिन्छन्।” उनले कपन र भोटखोला बिचको सम्बन्ध सधैं सुदृढ रहेको उल्लेख गर्दै सगरमाथा आरोहणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको बताए। भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कपन जेसिजका अध्यक्ष छितेन लिङ्बोले आरोहण जस्ता क्षेत्र युवाहरुका लागि अवसर र विकल्प हुनसक्ने बताए। आगामी दिनमा प्राविधिक तालिममार्फत आरोही तयार पार्ने योजना रहेको जानकारी दिए।












