युवा पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय युवा परिषद्ले गठन गर्यो ‘युवा पर्यटन सञ्जाल’
काठमाडौं-नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले देशभरिका युवालाई पर्यटन क्षेत्रतर्फ आकर्षित गर्ने उद्देश्यले युवा पर्यटन सञ्जाल गठन गरेको छ।
यो सञ्जालको गठन परिषद्को ‘युवा सञ्जाल गठन तथा परिचालन कार्यविधि २०७६’ अन्तर्गतको परिच्छेद ३, दफा ५ अनुसार गरिएको हो।
सञ्जालको केन्द्रीय संयोजक (अध्यक्ष) को जिम्मेवारी अनुप सुबेदीलाई दिइएको छ। उनी बागमती प्रदेश, ललितपुरका अनुभवि पर्वतारोही हुन्, जसले नेपालका साथै विदेशका दर्जनौँ हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेका छन्।
वरिष्ठ उपाध्यक्षमा दावा फिन्जो भोटे चयन भएका छन्, जो थुप्रै पटक सगरमाथा आरोहण गरिसकेका, अनुभवी र पर्यटन क्षेत्रमा प्रभावशाली व्यक्ति हुन्।
सचिवको जिम्मेवारी सुर्खेतकी बिनिता बोगटीलाई दिइएको छ भने सह–सचिवमा हुम्लाका भानुभक्त, जो धार्मिक पर्यटन प्रवर्द्धनमा सक्रिय छन्, चयन भएका छन्।
कोषाध्यक्षको रुपमा श्रृष्टि तामाङ चयन भएकी छन्।
सञ्जालमा थप १५ जना सदस्य चयन गरिएकोमा प्रमुख नामहरूमा सतिश खत्री, रुपक शिलवाल, रमित मल्ल, राजकुमार शाही, दिनेश श्रेष्ठ, अजय यादव, महेश जैशी र हरि शर्मा न्यौपाने रहेका छन्।
सञ्जालले युवामार्फत देशको आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने लक्ष्य राखेको छ। परिषद्का अनुसार सञ्जाल विभिन्न तालिम, कार्यक्रम, अभियान र प्रवर्द्धनात्मक गतिविधिमार्फत युवालाई सक्रिय बनाउने र समुदायमैत्री पर्यटन विकासमा योगदान दिने उद्देश्यसहित अघि बढ्नेछ।












