सामाजिक संजालको भ्रममा नपर्नुहोला, राजीनामा व्यवहारिक छैन : मन्त्री खड्का
सिन्धुली/ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विभिन्न स्तरबाट फैलाइँदै आएका अफवाह र कुप्रचारप्रति चिन्ता व्यक्त गर्दै ती भ्रममा नपरी देशको विकासमा समर्पित हुन आग्रह गरेका छन् ।

देशमा केही पनि नभएको होइन, धेरै काम भएका भएका छा् । केहि हुँदैपनि छ । धेरै काम गर्न सकिन्छ र गर्नु पनि पर्छ । त्यसका लागि सकारात्मक सोच र काम गर्ने इच्छाशक्ति अपरिहार्य छ,’मन्त्री खड्काले भने ।
गृहमन्त्रीमाथि उठेका पछिल्ला विवादबारे टिप्पणी गर्दै मन्त्री खड्काले कुनै प्रमाणबिना सार्वजनिक दबाबका आधारमा राजीनामा माग्नु अव्यावहारिक रहेको धारणा राखे ।
‘यदि यसरी हल्लाको भरमा राजीनामा दिइयो भने बाँकी को रहन्छ र ?कानुनी प्रक्रिया नै अन्तिम निर्णायक हो,’मन्त्री खड्काको स्पष्ट भनाइ थियो ।
ऊर्जा मन्त्रालयको चालु आर्थिक वर्षको बजेट र नीति कार्यक्रमबारे जानकारी गराउँदै मन्त्री खड्काले यो बजेट सन्तुलित भएको र कार्यान्वयनमा गएपछि यसको प्रभाव जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने बताए ।
उनले ऊर्जाक्षेत्रबाटै मुलुकमा समृद्धि हासिल हुने र गरीबी निवारण हुने बताउँदै उनले सरकार गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै बिनाधित्तो दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको सेयर उपलब्ध गराउने नीति ल्याएको बताए ।
केही भएन भन्ने भाष्य सिर्जना गर्नेहरु बढेपनि यथार्थ त्यो भन्दा फरक रहेको बताए । उनले मेरै कार्यकालमा क्षेत्रीय ऊर्जा व्यापारतर्फ नेपालले उल्लेखनीय सफलता हासिल गर्दै बंगलादेशसँग ४० मेगावाट विद्युत बिक्री शुरु गरिएको बताए ।
अब भारतसँग १० हजार र बंगलादेशलगायत तेस्रो मुलुकसँग पाँच हजार गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने सुनिश्चितता कायम भएको बताए । यसले देशको आर्थिक सबलीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
समाजमा बढ्दो असन्तोष, निराशा र हल्लाका कारण उत्पन्न नकारात्मक वातावरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री खड्काले संयमित भएर आफू मात्रलाई नभई आफ्ना सन्तानको भविष्यसमेत हेरेर देश निर्माणको अभियानमा जुट्न आह्वान गरे। ‘समाजलाई भड्किन नदिऔं, देश बनाउने अरू होइन, हामी आफैं हौं,’मन्त्री खड्काको अपिल थियो ।












