फेवातालको क्षेत्रफल ६ सय १७ बर्ग किलोमिटरले बढ्यो, संरचना हटाउने कार्य अघि बढ्दै
पोखरा।सर्वोच्च अदालतको परमादेशपछि पोखरास्थित फेवातालको क्षेत्रफल हालको तुलनामा थप ६ सय १७ वर्ग किलोमिटर (१ हजार २ सय १३ रोपनी) बढेको देखिएको छ। फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न गठित प्राविधिक उपसमितिले पानीको उच्चतम बहावका आधारमा गरेको अध्ययनले नयाँ क्षेत्रफल तोकेको हो।
उक्त उपसमितिको प्रतिवेदनअनुसार फेवातालको कुल क्षेत्रफल अब ७.६१६ वर्ग किलोमिटर (१४ हजार ९७० रोपनी ५ आना २ दाम) पुगेको छ। तालघरको क्षेत्रफल मात्र ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) रहेको अध्ययनले देखाएको छ। यो क्षेत्रफल २०८१ असार १२ मा पोखरामा परेको भीषण वर्षाले बनाएको उच्चतम पानीको सतहलाई मापदण्ड मानेर निर्धारण गरिएको हो। डीजीपीएस प्रविधि र ड्रोन सर्भेको प्रयोग गरेर नयाँ क्षेत्रफल मापन गरिएको हो।
यसअघि २०७७ सालमा पुण्य पौडेल आयोगको प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर (११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा) भएको उल्लेख गरिएको थियो। नयाँ प्रतिवेदनअनुसार ६५ मिटर मध्यवर्ती क्षेत्र थप गर्दा तालको क्षेत्रफल १.८९ वर्ग किलोमिटर (३ हजार ५ सय ३५ रोपनी) ले बढेको छ।
सर्वोच्च अदालतको परमादेश अनुसार ताल क्षेत्रभित्र ६५ मिटरभित्रका सबै संरचना हटाउन आदेश दिइएको छ। ताल संरक्षणका लागि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा गठित सहजीकरण समितिले प्राविधिक उपसमितिको प्रतिवेदनका आधारमा संरचना हटाउने कार्य अघि बढाएको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ६५ मिटरभित्र पर्ने संरचना हटाउन पोल गाड्ने काम सुरु भइसकेको जानकारी दिनुभयो।
मुख्यमन्त्री पाण्डेका अनुसार बर्खाको उच्चतम पानीको सतह पहिचान गर्न समय लागेको र कार्यान्वयनको प्रगति निरन्तर सर्वोच्च अदालतसँग समन्वयमा रहेको छ।












