नेपाल माउन्टेन एकेडेमीको २३औं विशेष वार्षिकोत्सव सम्पन्न
काठमाडौं –नेपाल माउन्टेन एकेडेमी (NMA) को २३औं विशेष वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौंको इन्द्रेणी फुडल्याण्ड, बानेश्वरमा आयोजना गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे हुनुहुन्थ्यो। उहाँले नेपाल माउन्टेन एकेडेमीका गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयबाट आवश्यक सहयोग र सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल माउन्टेन एकेडेमीका कार्यकारी प्रमुख अनिल किराँतीले विगत २३ वर्षको योगदान र उपलब्धिहरूको चर्चा गर्दै पहिलोपटक विशेष वार्षिकोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले एकेडेमीका पूर्व अध्यक्षहरू, प्रमुखहरू, विद्यार्थीहरू र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, पर्यटन मन्त्रालयका मन्त्रीको ध्यान आकृष्ट गराउँदै एकेडेमीको भविष्यका कार्यक्रमहरू, लगानी, बजेट, विकास र प्रचारप्रसारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

कार्यक्रममा हिमाल आरोहण गर्ने टोलीका सदस्यहरू, पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरू, विद्यार्थीहरू तथा अन्य सहभागीहरूले हिमाल, पर्यटन र नेपाल माउन्टेन एकेडेमीको विकासका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा हिमलुङ हिमाल सफलतापूर्वक आरोहण गर्ने टोलीलाई सम्मान गरिएको थियो। साथै, लोबुचे हिमाल सफलतापूर्वक आरोहण गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
विशेष अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा रिता आचार्यलाई नगदसहित सम्मान गरिएको थियो। त्यसैगरी, उत्कृष्ट समिट सम्मान (NMA Award) अलेक्जेन्डर लामालाई प्रदान गरिएको थियो।


कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख शिवप्रसाद जैशीले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल माउन्टेन एकेडेमीका विद्यार्थीहरू, शिक्षकहरू, कर्मचारीहरू, तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा नेपाल माउन्टेन एकेडेमीका आगामी योजनाहरू, विकास र समृद्धिका सम्भाव्यताहरूबारे समेत व्यापक छलफल भएको थियो।












