चलचित्र पत्रकार संघको २६ औं स्थापना दिवसमा ७ पत्रकार सम्मानित
इलाम–चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिको आयोजनामा संघको २६ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममार्फत ७ जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

कोशी प्रदेश शाखाको संयोजनमा इलामको प्रसिद्ध पर्यटकीय स्थल श्रीअन्तुमा सम्पन्न राष्ट्रिय चलचित्र पत्रकार भेला तथा सम्मान समारोहमा झापा, मोरङ, सुनसरी र इलाम शाखाको सक्रिय व्यवस्थापन रहेको थियो।
कार्यक्रममा पत्रकार ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ प्रदान गरियो। उक्त सम्मानसँगै उनलाई नगद रु. ५५,५५५ प्रदान गरिएको छ। साथै विष्णु सुवेदी, नरेन्द्र बस्नेत (कोशी) ले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्राप्त गरे भने जीवन कुमार पराजुली र वर्षा बस्नेतले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ प्राप्त गरे। यी पुरस्कारसँगै प्रत्येकले रु. ५१,००० प्राप्त गरेका छन्।
त्यस्तै, पत्रकार रश्मी थापा र तुलसी प्रसाद निरौलालाई क्रमशः राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिएको छ। दुबै पुरस्कारको राशी रु. २५,००० रहेको थियो।
सम्मान तथा पुरस्कारहरू चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार बसुन्धरा भूसाल, अभिनेता शिब श्रेष्ठ, कलाकार गौरी मल्ल, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका अध्यक्ष मोहन निरौला, संघका पूर्व अध्यक्ष विदुर गिरी, शान्तिप्रिय, दिनेश सिटौला र वर्तमान अध्यक्ष समीर बलामी लगायतले प्रदान गरेका थिए।
भेलाको अवसरमा सिनेमा पर्यटन महोत्सव कार्यशाला, मिडिया मन्थन, सिनेमा संवाद तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएका थिए। आज थप बृहत चलचित्र पत्रकारिता कार्यशाला र सिनेमा संवाद हुने महासचिव रघुनाथ सापकोटाले जानकारी दिए।













