धर्मश्रीमा धाँधली भएको सहभागी खेलाडीहरूको आरोप – Sagarmathapana:: Online News Portal

धर्मश्रीमा धाँधली भएको सहभागी खेलाडीहरूको आरोप

   २०७९ बैशाख २६ गते  

काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा धाँधली भएको सहभागी खेलाडीले आरोप लगाएका छन् । शनिवार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजेता गराउन आयोजक नेपाल व्यायामले निर्णायकको निर्णय नै हेरफेर गर्ने र खेलाडीप्रति अपहेलित व्यवहार भएको बताएका हुन् ।

‘आयोजकले आफ्नो खेलाडीलाई उपाधि दिलाउन हामीलाई समेत अपहेलित गरियो’ पत्रकार सम्मेलनमा उपस्थित खेलाडी अनुज मास्केले भने ।आयोजकले सधैँ खेलाडीलाई अपहेलित गरेको र त्यसै कारण आफूहरू मुख खोल्न बाध्य भएको खेलाडी सागर विकले भने ।

‘आयोजकबाट हामी सधैँ अपहेलित हुन्छौ । त्यसैले आगामी पुस्तालाई यस्तो नहोस् भनेर पत्रकार सम्मेलन गरेका हौं ।’ विकले पत्रकार सम्मेलन गर्नुको उद्देश्य बताए । सागर बेलायतबाट सहभागी हुन नेपाल आएका थिए ।

पत्रकार सम्मेलनमा गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायतको सहभागिता थियो ।

महिला सहभागी खेलाडी सनमले प्रतियोगिता व्यवस्थित नभएको र खेलाडी सधैँ अपहेलित हुनु परेको बताइन् ।

‘मैले बारम्बार आयोजकसँग बुझ्ने प्रयास गरे । तर हामीले प्रतिस्पर्धामा लगाउने पोसाक समेत कुन भन्ने थाहा पाउन सकेनौँ ।’ सनमले आरोप लगाइन् ।

यस्तै सहभागी प्रतिस्पर्धीले उपाधि दाबेदारलाई शीर्ष १५ बाटै बाहिर राखेर आयोजकले आफू अनुकूललाई च्याम्पियन बनाएको समेत आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै