गृहमन्त्रीविरुद्ध खगेन्द्र सुनारको गोप्य षड्यन्त्रको अडियो लिक
काठमाडौं।दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले गृहमन्त्री रमेश लेखकविरुद्ध आफ्ना सुण्डमुण्डहरूसँग मिलेर गोप्य रूपमा रणनीति बनाएको अडियो सार्वजनिक भएको छ।

काठमाडौं उपत्यकाभित्र केही दिन अघि सुनारले आफ्ना सहयोगीहरूलाई बोलाएर कोठाभित्र योजना बनाएको अडियो अहिले लिक भएको हो। उक्त अडियोमा उनीहरू गृहमन्त्री लेखकलाई लक्षित गर्दै अराजक र उत्तेजक अभिव्यक्ति दिइरहेको सुन्न सकिन्छ।

सुनारले आफूलाई दलित आन्दोलनको अगुवा भनेर चिनाउँदै आएका छन्। उनले यसअघि पनि हात र खुट्टामा नेल लगाएर काठमाडौंको माइतीघर मण्डलामा एक्लै प्रदर्शन गर्दै आएका थिए। पछिल्लो समय उनले सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारको विषयलाई लिएर एक हप्तादेखि प्रदर्शन गरिरहेका छन्। सार्वजनिक अडियोमा उनी गृहमन्त्री लेखकविरुद्ध कसरी रणनीति बनाएका थिए भन्ने स्पष्ट देखिन्छ। आन्दोलनलाई बल दिन भन्दा पनि व्यक्तिगत रूपमा गृहमन्त्रीलाई निशाना बनाउने योजना बनाएको पाइन्छ।

अडियोमा सुनारले आफू कांग्रेस पार्टी कार्यालय, माइतीघर मण्डला, सिंहदरबार, संसद भवन, मानवअधिकार आयोग लगायतका स्थानमा नेल लगाएर प्रदर्शन गर्न जाने योजना बनाएको उल्लेख गरेका छन्। उनले प्रहरी परिसरमा मुद्दा दर्ता गर्ने, अदालतमा जाने र सम्भव भए पक्राउ समेत पर्ने रणनीति बनाएको खुलेको छ। सुनारका सहयोगीहरूको अभिव्यक्तिले उनीहरूको योजना विदेशी शक्तिको आडमा भइरहेको हो कि भन्ने आशंका पैदा गरेको छ।

सुनारले सामाजिक सञ्जालमा समेत गृहमन्त्री लेखकलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै पोस्ट गरेका छन्। उनले फेसबुकमा गृहमन्त्रीको तस्वीर राख्दै “दम छ भने लडौं, सामन्तीहरूसँग लड्न हामी तयार छौं, गृहमन्त्री मुर्दाबाद” भनेर लेखेका छन्। अडियो सार्वजनिक भएपछि यस विषयमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। गृहमन्त्री लेखकविरुद्ध सुनारले बनाएको यो योजना राजनीतिक तहमा गम्भीर विवादको विषय बन्ने संकेत देखिएको छ।
स्रोत: रिपब्लिका दैनिक












