एमाले कार्यदलको प्रतिवेदन अनुमोदन, ‘पुनर्गठन’ शब्द हटाएर राष्ट्रिय परिषद् बैठक बोलाउने निर्णय – Sagarmathapana:: Online News Portal

एमाले कार्यदलको प्रतिवेदन अनुमोदन, ‘पुनर्गठन’ शब्द हटाएर राष्ट्रिय परिषद् बैठक बोलाउने निर्णय

   २०८३ आश्विन ५ गते  

काठमाडौं।नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ।पार्टीको १०औँ सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने क्रममा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने निर्णय गरेको हो।

सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरिएको कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदनलाई अन्तिम रूप दिँदै अनुमोदन गरेको छ।

यसअघि कार्यदलका संयोजक थापा र महासचिव शंकर पोखरेलले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका थिए। महासचिव पोखरेलको प्रतिवेदनमा पार्टी नेतृत्व पुनर्गठनको विषय उठाइएको थियो भने संयोजक थापाले उक्त प्रस्तावप्रति असहमति जनाएका थिए।

दुवै प्रतिवेदनबीच देखिएको मतभेदलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले एकीकृत प्रतिवेदन तयार पारेका हुन्।

कार्यदलका सदस्य तथा उपमहासचिव लेखराज भट्टका अनुसार एकीकृत प्रतिवेदनबाट ‘ओलीको तत्काल राजीनामा (पुनर्गठन)’ भन्ने विवादित शब्द हटाइएको छ। प्रदेश तथा पार्टीका विभिन्न विभागबाट प्राप्त सुझावहरू भने प्रतिवेदनको अनुसूचीमा समावेश गरिने भएका छन्।

कार्यदलभित्र सहमति जुटेसँगै प्रतिवेदनलाई आगामी केन्द्रीय कमिटी बैठकमा पनि छलफलका लागि प्रस्तुत गर्ने तयारी भएको छ।

एमालेको केन्द्रीय कमिटी बैठक भोलिदेखि सुरु हुँदैछ। बैठकमा कार्यदलको प्रतिवेदनसँगै पार्टीको आगामी सांगठनिक तथा राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै