मलेसिया रोजगारी विवाद: २५ मुख्य म्यानपावरमाथि छानबिन,२५० कम्पनीसँग स्पष्टीकरण
काठमाडौं।मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा नयाँ प्रणाली लागू गर्ने विषयलाई लिएर नेपालमा वैदेशिक रोजगार व्यवसायीबीच विवाद देखिएको छ। मलेसियाको Foreign Worker Centralised Management System (FWCMS) अन्तर्गत नेपालका करिब १,२०० म्यानपावरमध्ये २५ कम्पनीलाई ‘Principal Agency’ का रूपमा सूचीकृत गरिएको विषयमा नेपाल सरकारले छानबिन अघि बढाएको छ।
![]()

मलेसियाले ती २५ मुख्य कम्पनीअन्तर्गत थप २५० म्यानपावर कम्पनीलाई ‘Associate/Support Agency’ का रूपमा आबद्ध गरेपछि नेपालले उक्त प्रक्रियाप्रति आपत्ति जनाएको हो।
वैदेशिक रोजगार विभागले २५ वटा ‘Principal Agency’ को छनोट प्रक्रिया, मलेसियासँगको आबद्धता तथा उनीहरूको कारोबारसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। त्यस्तै, २५० वटा ‘Associate/Support Agency’ लाई समेत उनीहरू छनोट हुनुको आधार, प्रक्रिया र आबद्धतासम्बन्धी विवरण सात दिनभित्र पेश गर्न स्पष्टीकरण मागिएको छ।

सरकारले सीमित म्यानपावर कम्पनीमार्फत मात्र मलेसिया रोजगारी सञ्चालन गर्ने संरचना नेपालको प्रचलित कानुनी व्यवस्था र खुला प्रतिस्पर्धाको सिद्धान्तसँग मेल नखाने जनाएको छ। यही कारण नयाँ प्रणालीअन्तर्गतको पूर्व श्रम स्वीकृति तत्कालका लागि रोकिएको बताइएको छ।
श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई समान अवसर उपलब्ध गराइनुपर्ने बताएका छन्। उनले श्रमिक पठाउने प्रक्रियामा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

विवाद समाधानका लागि नेपाल सरकारले मलेसियासँग द्विपक्षीय प्राविधिक समितिको बैठक छिटो बोलाउन पहल गरिरहेको छ। दुई देशबीचको छलफलबाट नयाँ भर्ती प्रणालीबारे देखिएको अन्योल समाधान गर्ने प्रयास भइरहेको बताइएको छ।
हाल FWCMS को नयाँ प्रणालीअन्तर्गत नेपालबाट नयाँ भर्ती प्रक्रिया सुरु भएको छैन। यसअघि जारी भइसकेका कोटाअन्तर्गतका श्रमिकको प्रक्रिया भने जारी रहेको जनाइएको छ।
मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक भएकाले नयाँ भर्ती प्रणाली र म्यानपावर कम्पनीको छनोट प्रक्रियासम्बन्धी विवादले रोजगारीको आगामी प्रक्रियामा प्रभाव पार्न सक्ने देखिएको छ।
स्रोत: वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय












