विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरिने : शिक्षामन्त्री पोखरेल
काठमाडौं।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझावका आधारमा शिक्षा प्रणाली तथा पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनुभएको छ।
मधेश प्रदेश भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्नुभएका मन्त्री पोखरेलले विद्यार्थीका गुनासा र सुझाव शिक्षा सुधारका लागि महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो।
उहाँले हालको पाठ्यक्रममा आवश्यक परिमार्जन गर्दै नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। “काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो।
विद्यालयमै पुगेर समस्या र सुझाव संकलन
भदौ २६ गते धनुषाबाट सुरु भएको मन्त्रीसहितको टोलीको मधेश भ्रमण सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको हो। भ्रमणका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका विषयमा प्रत्यक्ष छलफल गरिएको थियो।
मन्त्री पोखरेलका अनुसार भ्रमणले काठमाडौँमा बसेर सहजै पहिचान गर्न नसकिने स्थानीय समस्या र शैक्षिक चुनौतीबारे प्रत्यक्ष जानकारी प्राप्त भएको छ। कक्षाकोठादेखि समुदायसम्म पुगेर संकलन गरिएका सुझावलाई आगामी शिक्षा ऐनलगायतका कानुन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा उपयोग गरिने उहाँले बताउनुभयो।
व्यवहारिक र सीपमूलक शिक्षामा विद्यार्थीको जोड
भ्रमणका क्रममा विद्यार्थीहरूले पाठ्यक्रममा व्यवहारिक तथा जीवनोपयोगी विषय समावेश गर्नुपर्ने, अध्ययनसँगै सीप विकासमा जोड दिनुपर्ने र विद्यालयको भौतिक तथा प्रविधिगत अवस्था सुधार गर्नुपर्ने सुझाव दिएका थिए।
मन्त्री पोखरेलले सप्तरीको तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयको अनुगमन गरी विद्यालयको शैक्षिक अवस्था, विद्यार्थी तथा शिक्षकका समस्या र आवश्यकताबारे जानकारी लिनुभयो। सो क्रममा विद्यार्थीबाट पाठ्यक्रम निर्माणसम्बन्धी सुझावसमेत संकलन गरिएको थियो।
त्यस्तै, बोदेबर्साइन नगरपालिका–३ स्थित श्री इश्वरी हिया सुरैत जिलेवी जनता माध्यमिक विद्यालय, सारस्वर तथा शम्भुनाथ नगरपालिका–६ स्थित श्री बुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालय, भगवतपुर बडहरीमा पनि शिक्षा सुधार र पाठ्यक्रम परिमार्जनसम्बन्धी सुझाव लिइएको थियो।
विद्यालयका प्रधानाध्यापक गजेन्द्रप्रसाद दासले शिक्षामन्त्री विद्यालयमै आएर विद्यार्थी तथा शिक्षकका समस्या सुनेकोमा खुसी व्यक्त गर्दै भौतिक पूर्वाधार र प्रविधियुक्त शैक्षिक सामग्रीको आवश्यकता औँल्याउनुभयो।
मधेशमा इन्जिनियरिङ र कृषि शिक्षाको आवश्यकता
मन्त्री पोखरेलले मधेश प्रदेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता ठूलो रहेको बताउनुभयो। उहाँले कृषि शिक्षा विस्तार तथा कृषि कलेज स्थापना पनि मधेशका लागि महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्नुभयो।
राजविराज नगरपालिका तथा खडक नगरपालिकाका केही विद्यालयमा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै उहाँले शिक्षा क्षेत्रका समस्या र सुधारका उपायबारे जानकारी लिनुभएको थियो।
बर्दिबासमा प्रस्तावित मेडिकल कलेजको स्थल अवलोकन
मन्त्रीसहितको टोलीले बर्दिबासमा निर्माण हुने प्रस्तावित मेडिकल कलेजको स्थलसमेत अवलोकन गरेको छ। सो क्रममा स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गरी मेडिकल कलेज निर्माणसँग सम्बन्धित स्थानीय आवश्यकता, अपेक्षा र सुझावबारे जानकारी लिइएको थियो।
मन्त्री पोखरेलले मधेश प्रदेश सरकारसँग समन्वय गरी शिक्षा तथा खेलकुद क्षेत्रको सुधारका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो। भ्रमणका क्रममा संकलित समस्या, अनुभव तथा सुझावलाई तथ्य र प्रमाणमा आधारित दस्तावेजका रूपमा समेटिने उहाँले बताउनुभयो।
नीति निर्माण वास्तविक समस्या र स्थानीय आवश्यकतालाई आधार बनाएर हुनुपर्ने भन्दै उहाँले संकलित सुझावलाई आगामी नीति तथा कानुन निर्माणमा उपयोग गरिने स्पष्ट पार्नुभयो।
मधेश भ्रमण सम्पन्न गरेपछि मन्त्रीसहितको टोली पूर्वाञ्चल विश्वविद्यालयको भ्रमणका लागि गएको छ। भ्रमणपछि टोली भोलि काठमाडौँ फर्किने कार्यक्रम रहेको जनाइएको छ।
भ्रमण टोलीमा प्रतिनिधिसभा सदस्य सीताराम साह, डा. अकिता ठाकुर, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा लगायतको सहभागिता रहेको थियो।












