नेपाल पर्यटकका लागि खुला छ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटकका लागि खुला रहेको र विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जनाएको छ।
मन्त्रालयले सामाजिक सञ्जालमार्फत नेपाल भ्रमणले विपद्पछि पुनःस्थापना भइरहेका स्थानीय समुदायलाई सहयोग पुग्ने जनाएको हो। मन्त्रालयका अनुसार पर्यटकको उपस्थितिले स्थानीयको रोजगारी तथा जीविकोपार्जनमा सहयोग गर्नुका साथै प्रभावित समुदायलाई थप हौसला प्रदान गर्नेछ।

![]()
पर्यटकलाई आवश्यक सूचना तथा सहायता उपलब्ध गराउन मन्त्रालयमा Quick Response Team सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, नेपाल पर्यटन बोर्डमा पर्यटन विभाग, पर्यटक प्रहरी तथा निजी क्षेत्रसँगको समन्वयमा Tourist Information Desk स्थापना गरिएको छ।

मन्त्रालयले विपद्का कारण उत्पन्न परिस्थितिबाट प्रभावित क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै पर्यटकलाई आवश्यक जानकारी लिएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ।
‘नेपाल बन्द छैन, नेपाल खुला छ र पर्यटकलाई स्वागत गर्न तयार छ’ भन्ने सन्देशसहित मन्त्रालयले विश्व पर्यटन समुदायलाई नेपालसँग ऐक्यबद्धता जनाउँदै भ्रमणका लागि आह्वान गरेको छ।













