नाडाद्वारा बाढीपीडितका लागि १० लाख सहयोग घोषणा
काठमाडौं।भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुःख व्यक्त गरेको छ।
नाडाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

![]()
राष्ट्रिय विपद्को यस घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा राज्यसँग सहकार्य गर्न नाडा प्रतिबद्ध रहेको जनाएको छ। नाडाले देशभरका अटोमोबाइल व्यवसायीलाई एकजुट भई उद्धार तथा राहत कार्यमा सहयोग गर्नसमेत आह्वान गरेको छ।
तत्काल राहत तथा पुनरुत्थानका लागि नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
![]()

विपद्पछिको अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परताप्रति नाडाले आभार व्यक्त गरेको छ। सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने नाडाको विश्वास छ।
यसैबीच, विपद्का कारण आर्थिक गतिविधिमा असर पर्न सक्ने भए पनि भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने नाडाले जनाएको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्को सामना गर्नुपर्ने अवस्था रहेको भन्दै नाडाले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीद्वारा जारी विज्ञप्तिमा विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।












