रोयल इन्फिल्डको ‘गोर्खा एडिसन’ नेपाली बजारमा, मूल्य ५ लाख ९९ हजार – Sagarmathapana:: Online News Portal

रोयल इन्फिल्डको ‘गोर्खा एडिसन’ नेपाली बजारमा, मूल्य ५ लाख ९९ हजार

   २०८३ भाद्र ५ गते  

काठमाडौं।नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले लोकप्रिय क्लासिक ३५० को ‘गोर्खा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

राजधानीमा आयोजित कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा नयाँ एडिसनको अनावरण गरिएको हो। कम्पनीले ‘गोर्खा’ नामलाई नेपाली वीरता, साहस र अनुशासनको प्रतीकका रूपमा प्रस्तुत गर्दै रोयल इन्फिल्डको विरासतसँग जोडेको जनाएको छ।

‘नाम गोर्खाको, भावना नेपालीको, यात्रा रोयल इन्फिल्डको’ नाराका साथ सार्वजनिक गरिएको गोर्खा एडिसनमा क्लासिक ३५० को मूल डिजाइन तथा मेकानिकल संरचनालाई कायम राख्दै नयाँ रङ, विशेष ग्राफिक्स र गोर्खा पहिचान झल्काउने डिजाइन समावेश गरिएको छ।

मोटरसाइकलमा लाइट मिलिटरी अर्थात् ओलिभ ग्रीन रङ, साइड प्यानलमा विशेष ग्राफिक्स तथा क्रस्ड खुकुरीको मोटिफ राखिएको छ। वायर–स्पोक ह्वील, राउन्ड मिरर, क्रोम एग्जस्ट र क्रोम हेडलाइटजस्ता क्लासिक ३५० का परिचित विशेषता पनि कायम छन्।

गोर्खा एडिसनमा ३४९ सीसीको सिंगल–सिलिन्डर, एयर तथा आयल–कुल्ड जे–सिरिज इन्जिन प्रयोग गरिएको छ। यसले २०.२ बीएचपी अधिकतम पावर र २७ एनएम टर्क उत्पादन गर्छ। इन्जिनमा ५–स्पीड गियरबक्स जोडिएको छ।

त्यस्तै, मोटरसाइकलमा एनालग स्पिडोमिटर र एलसीडी डिस्प्लेसहितको सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ। राइडर र पिलियनका लागि छुट्टाछुट्टै सिट दिइएको छ।

अल्फा अटोमोटिभले गोर्खा एडिसनको सुरुवाती मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ। कम्पनीका अनुसार भारतमा सार्वजनिक भएको केही समयमै यो विशेष संस्करण नेपाली बजारमा पनि उपलब्ध गराइएको हो।

कम्पनीले नेपाली बजारमा हन्टर, क्लासिक, मिटियर, स्क्र्याम, हिमालयन र गुरिल्लालगायतका रोयल इन्फिल्डका मोडल बिक्री गर्दै आएको छ। गोर्खा एडिसनले नेपाली राइडर तथा रोयल इन्फिल्डका पारखीबीच थप आकर्षण सिर्जना गर्ने कम्पनीको अपेक्षा छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै