काठमाडौं।सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर योगदान गर्ने विभिन्न क्षेत्रका १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको छ।
राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आज विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट करदातालाई सम्मान गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे।
विभागका अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। एकलौटी फर्मतर्फ थर्ड आईले सम्मान प्राप्त गरेको छ।
त्यस्तै, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि तथा कृषि एवं पशुपन्छीजन्य उद्योगतर्फ ओसिबी एण्ड फुड्स फिड्स प्रालि सम्मानित भएका छन्।
बैंकिङ क्षेत्रमा नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटन व्यवसायमा सोल्टी होटलले सम्मान प्राप्त गरेका छन्। वस्तु व्यापारतर्फ सिजी इम्पेक्स प्रालि सम्मानित भएको छ।
यसैगरी, ५० करोडदेखि १०० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी सम्मानित भएको छ। ऊर्जा उद्योगतर्फ भोटेकोशी हाइड्रोपावर तथा रेमिट्यान्स र मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेडले सम्मान प्राप्त गरेका छन्।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने कम्पनीका रूपमा हिमालयन डिष्टिलरी लिमिटेड सम्मानित भएको छ।
५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातातर्फ इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगतर्फ वरुण बेभरेज, जीवन बीमा क्षेत्रमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, निर्जीवन बीमा क्षेत्रमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त सम्मानित भएका छन्।
यसै अवसरमा मुलुकको राजस्वमा उच्च योगदान पुर्याएको भन्दै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान प्रदान गरिएको छ।
सरकारले करदातालाई प्रोत्साहन गर्ने तथा कर प्रणालीप्रति नागरिक र व्यवसायीको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।







