गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण – Sagarmathapana:: Online News Portal

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

   २०८३ भाद्र ४ गते  

काठमाडौं।गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बुधबार एक समारोहबीच बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन्।

कार्यालय उद्घाटनसँगै लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण भएको छ। २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको बैंकले २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा सारेको थियो। राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते पोखराबाट लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरिएको थियो।

नवनिर्मित कार्यालय उद्घाटनका अवसरमा परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजा समेत गरिएको थियो।

समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, विभिन्न नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक, पूर्वपदाधिकारी, उच्च व्यवस्थापन, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकको उपस्थिति थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौं आइपुगेको र आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै संस्थाको नयाँ अध्याय सुरु भएको बताए। उनले बैंकको व्यावसायिक सफलतामा ग्राहक, शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

बैंकका अध्यक्ष दिलीप प्रताप खाँणले आगामी दिनमा ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा र ५१ एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै