शेर्पा पोशाक प्रयोग गरिएको टिकटकप्रति पोखरा शेर्पा समाजको आपत्ति
पोखरा।तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा विशाल गुरुङसहितले शेर्पा तथा अन्य हिमाली समुदायको मौलिक भेषभूषा ‘छुप्पा’ प्रयोग गरी बनाएको टिकटक भिडियोप्रति पोखरा शेर्पा समाज, कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ।

समाजले प्रेस विज्ञप्ति जारी गर्दै परम्परागत पोशाकको मर्यादा र मौलिकता विपरीत हुने गरी सामाजिक सञ्जालमा सामग्री प्रसारण गरिएको भन्दै आपत्ति जनाएको हो। उक्त भिडियोले शेर्पा समुदायको सांस्कृतिक पहिचान, श्रद्धा र मौलिकतामा आघात पुर्याएको समाजको भनाइ छ।


समाजले विशाल गुरुङसहित सम्बन्धित व्यक्तिलाई उक्त भिडियो तत्काल हटाउन अनुरोध गरेको छ। साथै, अनुरोधलाई बेवास्ता गरिए प्रचलित कानुनअनुसार कानुनी उपचारको बाटो अवलम्बन गर्ने चेतावनीसमेत दिएको छ।















